सम्भव सिरोहियाको राजीनामा : दशकौंको विश्वास धरापमा, ‘शक्तिको भक्ति’ गरिएको आशंका
काठमाडाैं। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजीनामा दिएका छन्। आफ्नै परिवारको स्वामित्वमा रहेको कान्तिपुर मिडिया ग्रुप अन्तरगतका संचारमाध्यम, कान्तिपुर दैनिक, इकान्तिपुर, कान्तिपुर टेलिभिजन लगायतका प्रकाशित समाचारप्रति असहमति जनाउँदै उनले राजीनामा दिएको उल्लेख गरेका छन्।
उनको राजीनामाले कान्तिपुरले दशकौंदेखि पत्रकारितामार्फत बनाएको विश्वास धरापमा परेको छ। साथमा सिरोहिया स्वयंको नियतमाथि पनि गम्भीर आशंका उब्जिएको छ।
सिरोहियाले कान्तिपुरले मिशन पत्रकारिता गरेको आरोप लगाएका छन्। उनले गृहमन्त्री सुधन गुरुङका सन्दर्भमा कान्तिपुरले गरेको रिपोर्टिङ र प्रकाशित समाचारप्रति लक्षित गर्दै मिशन पत्रकारिताको आरोप लगाएका छन्।
उनको राजीनामा पत्र पढेका कान्तिपुरका पत्रकारले नै लेखेको समाचारअनुसार सिरोहियाले नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा उल्लेख गरेका छन्।
अहिले कान्तिपुरले मिहन पत्रकारिता गरेको आरोप लाग्दै गर्दा विगतमा कान्तिपुरले मिशन पत्रकारिता गरेको थियो वा थिएन भन्ने पनि हेर्नु आवश्यक छ। कान्तिपुर मिहान पत्रकारितामा अछुतो छैन। २०४६ सालको परिवर्तन लगत्तै प्रकाशन सुरु गरेको कान्तिपुरले विगतमा विभिन्न कालखण्डमा मिशन पत्रकारिता गरेको तथ्य जगजाहेरै छ।
कान्तिपुर स्वयंले विभिन्न समयमा प्रकाशन गरेका आफूसम्बन्धी विभिन्न सामग्रीहरुमा पनि विगतमा मिशन पत्रकारिता गरेको स्वीकार गरेको छ। दुई दशकअघि लोकतन्त्र तथा गणतन्त्र स्थापनाकालमा त कान्तिपुर मिशन पत्रकारिताको चरम अवस्थामा थियो। त्यतिबेला कान्तिपुर मात्रै नभइ राज्य नियन्त्रित बाहेक अन्य सबैजसो मिडियाले मिशन पत्रकारिता गरेका थिए।
गणतन्त्रका पक्षमा कान्तिपुरले मिशन पत्रकारिता गरेको थियो र ऊ यसका पक्षमा अडिग छ भन्ने कुरा त कान्तिपुरका निवर्तमान सम्पादक उमेश चौहानले सार्वजनिक रुपमै स्वीकार गरेका हुन्।
दुई दशकअघि तत्कालीन अवस्थामा कार्यान्वयनमा रहेको ‘नेपाल अधिराज्यको संविधान २०४७’ को प्रतिकूल गणतन्त्रको खुला वकालत गरेको कान्तिपुरले करिब २ वर्षजति अगाडि राजतन्त्रको विषयमा बहस चलाउन अस्वीकार गरेको थियो।
राप्रपाका तत्कालीन बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कान्तिपुरका तत्कालीन सम्पादक चौहानलाई सम्बोधन गर्दै सामाजिक संजालमार्फत राजतन्त्रका विषयमा बहस चलाउन आग्रह गरेका थिए। यसलाई चौहानले ‘संविधान’को हवाला दिँदै अस्वीकार गरेका थिए।
विगत ३ वर्षदेखि कान्तिपुरले रास्वपा सभापति रवि लामिछानेको सहकारीको रकम अपचलन सम्बन्धी विषयमा लगातार फलोअप गरिरहेको छ। सम्भव सिरोहिया प्रबन्ध निर्देशन नियुक्त भइसकेपछि रविका विषयमा कान्तिपुर झनै आक्रामक देखिएको थियो।
सरकारीको रकम कम्पनीको बैंक खातामा ल्याइसकेको अवस्थामा कम्पनीको संचालनका लागि रविले सोही बैंक खाताको रकम प्रयोग गरेको बाहेक रविविरुद्ध अन्य प्रमाणहरु देखिँदैनन्। उनी सहकारीका संचालक पनि होइनन्, पैसा मागेका पनि छैनन्।
सहकारीको रकम रविको नाम पारेर जम्मा गरिएको भए पनि त्यो रकम उनी आफैंले जम्मा गरेको प्रमाण समेत छैन। रवि अहिलेसम्म दोषी ठहर भएका पनि छैनन्। रविको हकमा मिशन पत्रकारिता नदेख्ने सिरोहियाले अहिले सुधनको हकमा कसरी मिशन पत्रकारिता देखे? प्रश्न सोचनीय छ।
सिरोहियाले आफ्नै स्वामित्वमा रहेको मिडिया हाउसको समाचारमाथि जसरी असहमति राखे र मिशन पत्रकारिताको आरोप लगाए, यसले कान्तिपुरले ३ दशकभन्दा लामो समयदेखि आर्जन गरेको विश्वसनीयता धरापमा परेको छ। कान्तिपुरसँग विश्वसनीयता र जिम्मेवारीबोधको इतिहास छ।
करिब २ दशकअघि कान्तिपुरमा छापिएको एउटा समाचार धेरै वर्षपछि स्थलगत रिपोर्टिङ नभइ काठमाडौंको कोठामा बसेर लेखिएको खुलासा भयो। यो खुलासासँगै समाचार छापिएका बेला कान्तिपुरको सम्पादक रहेका युवराज घिमिरेले अर्को पत्रिकामा सम्पादशीय लेखेरै माफी मागे। मिडियाको विश्वसनीयताका लागि यसरी माफी माग्ने उदाहरणीय सम्पादक पाएको कान्तिपुरको विश्वसनीयता अहिले आफ्नै मालिकले छ्यापेको हिलोका कारण जीर्ण भएको छ।
सिरोहियाको राजीनामासँगै गम्भीर आशंका पनि उब्जिएको छ। प्रतिनिधि सभामा केवल २१ सिट भएको दल हुँदा कान्तिपुर जसरी रविको विषयमा आक्रामक थियो अहिले त्यो दल झण्डै दुई तिहाइसहित सत्तासीन हुँदा कान्तिपुरकै मालिकले रास्वपाप्रति नरम हुनुले उनको नियतमाथि प्रश्न उठाएको छ।
सिरोहिया कान्तिपुरको मिशन पत्रकारितासँग असन्तुष्ट भएका हुन् वा रास्वपाप्रति नरम देखिएर शक्तिको भक्ति गर्न खोजेका हुन्? अहिले चासोका साथ हेरिएको छ। सत्ताप्रति वफादार रहेर सत्ताको आडमा बलियो बन्ने खेलमा लागेका त होइनन् भन्ने प्रश्न पनि अहिले उब्जिएको छ।
पछिल्लो समय ठूला व्यापारीहरु अपारदर्शी र गैरकानुनी कारोबारको आरोपमा पक्राउ परिरहेका छन्। ठूला व्यापारिक घरानाका शक्तिशाली व्यवसायीहरुका गैरकानुनी कारोबारहरुको खुलासा हुँदै गर्दा यसले सिरोहिया परिवारलाई पनि प्रभाव पार्न सक्ने सहजै अनुमान गर्न सकिन्छ।
प्रजातन्त्रको उदय भएसँगै निजी क्षेत्रबाट अग्रणी सञ्चारगृहको नेतृत्व गरेको कान्तिपुर दैनिकको स्लोगन नै ‘सूचना तपाइंको अधिकार’ भन्ने छ। कान्तिपुरले सत्य, तथ्य र विश्वनीय समाचार सम्प्रेषण गर्दै आएको दाबी गरेको छ।
र सम्भव सिरोहियाले मिशन पत्रकारिता गरेको आरोप लगाउँदै राजीनामा दिएपछि कान्तिपुरले सम्प्रेषण गर्ने समाचारको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठेको छ। सिरोहियाले जुन नियतले राजीनामा दिएपनि त्यसले नेपाली पत्रकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
एकल सामित्व रहेको कान्तिपुरका मालिकले नै मिशन पत्रकारिता गरेको आरोप लगाएपछि यसले कान्तिपुरलाई के असर गर्ला त्यो त भविष्यले बताउला नै, त्यसले नेपाली पत्रकारिताको भूमिकामाथि प्रश्न उठाउने निश्चित छ।







डिसी नेपाल







Facebook Comment