गाउँमै आँखाको निःशुल्क शल्यक्रिया

डिसी नेपाल
१२ वैशाख २०८३ २१:५९

दशरथचन्द (बैतडी)। यहाँको पुर्चांैडीमा सञ्चालित आँखा शिविरमा एक सयभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया गरिएको छ।

शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन भएको उक्त शिविरमा एक सय २२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले शिविरमा दुई सय ३० जनालाई चस्मा र चार सय ३५ जनालाई औषधि वितरण गरिएको जानकारी दिए। “ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गर्दै नगरपालिकाले शिविरको आयोजना गरेको थियो। त्यस क्रममा पालिकाभित्रका सात सयभन्दा बढी नागरिक लाभाविन्त भएका छन्”, उनले भने, “सेवा लिन आएका अधिकांशमा उमेरका कारण नै आँखामा समस्या देखिएको छ।”

घर नजिकै सञ्चालन भएको शिविरमा आँखाको उपचार सेवा पाएपछि यहाँका ज्येष्ठ नागरिक निकै खुसी भएका छन्। उपचारपछि आँखाको ज्योति फर्किएपछि खुसी लागेको पुर्चांैडी नगरपालिका–८ की झिमा बोहराले बताए। “नगरपालिकाले गत वर्ष सञ्चालन गरेको शिविरमार्फत दायाँ आँखाको ज्योति फर्कियो”, बोहराले भने, “यस वर्ष बायाँ आँखाको शल्यक्रिया भएपछि निकै खुसी लागेको छ।”

नगरपालिका र च्यारिटी हेल्थ फाउण्डेसनको संयुक्त आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो। ग्रामीण क्षेत्रमा रहेका आँखाका बिरामीलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको नगरप्रमुख दीपकबहादुर बमले बताउनुभयो। वडास्तरमा आँखाको परीक्षण गरी छनोट गरिएका बिरामीलाई शिविरमा ल्याएर शल्यक्रिया गरिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *