ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

डिसी नेपाल
१३ वैशाख २०८३ १०:४९

काठमाडौं। सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको हो। पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा लगायत रहेका छन्।

यसअघि ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा ६ जना पनि पक्राउ परिसकेका छन्। उनीहरूलाई काठमाडौँसहित विभिन्न जिल्लाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

अनुसन्धानका क्रममा ह्याकरहरूले बोलपत्रको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरी ठेक्का प्रभावित पार्ने कार्य गरेको पाइएको छ। घटनामा विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

सरकारले सार्वजनिक खरीद प्रक्रिया पारदर्शी बनाउन ईजीपी प्रणाली लागू गरेको भए पनि पछिल्लो घटनाले यसको सुरक्षामाथि प्रश्न उठाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *