सरकारको १ महिनामा रविन्द्र मिश्रको विश्लेषण : रास्वपा र बालेन एक अर्काबिना अपुरो

डिसी नेपाल
१३ वैशाख २०८३ १२:२३

काठमाडौं । रष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सरकार गठन भएको १ महिना पूरा भएको अवस्थामा सरकार र सत्ताधारी दलको चुनाबी सफलताको विश्लेषण गरेका छन् । उनले लेखेका छन् – आज रास्वपा/बालेन सरकारको एक महिना भएछ।

१. यो पटकको चुनावमा बालेन नभएको भए, रास्वपा सफल हुने थिएन। रास्वपा नभएको भए बालेन प्रधानमन्त्री हुने थिएनन्।

२. सरकार प्रमुख हुनाले चर्चा सबै बालेनको छ। तर रवी लामिछाने नभएको भए अहिले जे देखिएको छ, त्यो केही पनि संभव हुने थिएन।

३. यी दुईले संसारमैँ बिरलै देखिने असाधारण चुनावी परिणाम लेराए। उनीहरूले नेपाली राजनीतिमा राजनीतिक मात्र होइन उमेरगत पुस्तान्तरण पनि लेराए। अब यो सहजै उल्टिँदैन।

४. यो सरकारले शिक्षक, प्राध्यापक, कर्मचारीजस्ता सरकारी वेतनधारीको “दलीय” भातृ संगठन कानूनीरूपमैँ खारेज गरेको दिन, म खुशीले भोज खानेछु। सरकारी वेतनधारीका “दलीय” भातृ संगठन सुशासनका धमिरा हुन्। ती जिउँदो रहेसम्म जे गरे पनि सुशासनको कल्पनै नगरे हुन्छ।

५. दशकौँसम्म पतित राजनीतिको प्रतिक बनेको सुकुम्वासी समस्या समाधानको बाटोमा उन्मूख हुनु ऐतिहासिक कार्य हो।

६. हालसम्म सिंहदरबार/बालुवाटार बिचौलियाका लागि बन्द देखिन्छ।

७. मन्त्रीहरूको घाँटीमा केजी/केजीका माला देखिँदैन। मन्त्रीहरू उद्घाटन र अनावश्यक भेटघाटमा देखिँदैनन्।

८. सबै मन्त्री आ-आफ्नो काममा व्यस्त देखिन्छन्।

९. मन्त्री/प्रधानमन्त्री हिँड्दा बाटो अवरूद्ध हुँदैन।

१०. दशकौँपछि नयाँ र स्वच्छ राजनीतिको आभास मिलिरहेको छ। देखिएका केही कमजोरी सुधार हुँदै जाओस्।

११. तर तपाईँहरूले सुशासनको हकमा असाधारण काम गरिरहे पनि, बढ्दोरूपमा असुरक्षित बन्दै गएको विश्वमा नेपालको दीर्घकालीन हित र अस्तित्व सुनिश्चित गर्ने हो भने राजसंस्थालाई लोकतन्त्रको फ्रेमवर्कभित्र ल्याउनै पर्छ। तपाईँहरू हिँडिरहेको “प्रचण्डपथ”बाट त्यो संभव हुँदैन। सुशासनको एजेन्डाले मात्र अब नेपाललाई थेग्न सक्दैन।

तपाईँहरूलाई धेरैधेरै शुभकामना!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *