कांग्रेस संसदीय दलको नेतृत्व भीष्मराज आङ्देम्बेलाई

डिसी नेपाल
१४ वैशाख २०८३ १३:३२

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए। .

कांग्रेस कार्यसम्पादन समितिको निर्णयअनुसार आजै बस्ने संसदीय दलको बैठकलाई नेतामा आङ्देम्बेको नाम अनुमोदन गर्ने जानकारी पनि उनले दिए।

संसदीय दलको नेतामा तीन जना नेताले दाबी गरेपछि यसअघि बसेका बैठक उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा दुवै महामन्त्री रहेको सहमति गराउने समिति गठन भएको थियो।

सो समितिको गृहकार्यपछि आज बसेको कार्यसम्पादन समितिले संसदीय दलको नेता सर्वसम्मत गराउने निर्णय गरेको हो। आजै बस्ने संसदीय दलको बैठकले नेता चयनको बाँकी प्रक्रिया अघि बढाउने जनाइएको छ।

विसं २०६४ पछि पहिलोपटक कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुन लागेको जनाइएको छ ।

समानुपातिक सांसदका रूपमा रहेका आङ्देम्बे पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएका थिए। उनले लामो समयदेखि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन र मझधारको भूमिका निर्वाह गर्दै आएका थिए।

सभापति थापाको कार्यशैली र दृष्टिकोणमा स्पष्ट समर्थन जनाउँदै आएका आङ्देम्बेले अब संसद्मा कांग्रेसको संसदीय मोर्चाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर-२ बाट निर्वाचित भई संसदीय अनुभव बटुलिसकेका उनी अबको बदलिँदो राजनीतिक परिस्थितिमा कस्तो भूमिका खेल्छन्, त्यो भने हेर्न बाँकी नै छ।

पार्टीका उच्च तहका नेताहरूको सहमतिमा उनको नाम टुंगो लागेकाले यसलाई कांग्रेसभित्रको गुटगत राजनीति अन्त्य गर्ने प्रयासका रूपमा पनि लिइएको छ। यस चयनले अब संसद्मा नेपाली कांग्रेसको प्रभावकारी उपस्थिति रहने र सरकारसँगका कतिपय पेचिला विषयहरूमा उनले कस्तो नेतृत्व प्रदान गर्छन् भन्ने चासो सबैतिर बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *