४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

डिसी नेपाल
१५ वैशाख २०८३ १९:११

काठमाडौं। काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम दिन चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ।

आज कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र बोर्डका अध्यक्ष दिनेशराज दाहालका बिच महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन्।

त्यस क्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, चलचित्र निर्माण गर्न काठमाडौँलाई खुला स्टुडियोको रूपमा विकास गर्न महानगरपालिका र बोर्ड बिच सहकार्य हुन सक्ने बताइन्।

‘चलचित्र र यससँग सम्बन्धित विभिन्न विधाबाट समाज र सामाजिक पक्षलाई जीवन्त बनाउन सकिन्छ। हामी डबली, चोक र ननीहरुमा चलचित्रहरूको प्रदर्शन गर्ने, चलचित्र निर्माणमा निर्माताहरूलाई प्रोत्साहन गर्न अन्तर्संवाद सञ्चालन गर्ने, समुदाय स्तरमा चलचित्र तथा श्रव्य दृश्य उत्पादनको क्षमता विकास तालिम सञ्चालन गर्ने योजनामा छौँ। यस कार्यलाई सहभागितामूलक र दिगो बनाउन हामी क्षेत्रगत विज्ञ र साझेदारसँग सहकार्यका लागि इच्छुक छौँ,’ डंगोल बताए।

भित्री सहरी क्षेत्रका डबली, चोक र ननीमा कार्यक्रम गरेजस्तै बाहिरी वडाका पार्कहरूमा चलचित्र प्रदर्शनको कार्यक्रम सञ्चालन गरिने योजना रहेको डंगोलको भनाइ छ।

त्यस क्रममा बोर्डका अध्यक्ष दाहालले चलचित्रमार्फत सहरलाई जीवन्त बनाउने अभियानमा बोर्ड सदैव साथमा रहेको उल्लेख गे।
‘फोटोग्राफीबाट सहकार्य थालेका छौँ। यसलाई बढाएर रचनात्मक उद्योगको विकास र प्रवर्धनमा सहकार्य गर्न हामी तयार छौँ,’ दाहालको भनाइ थियो।

सम्झौता बमोजिम बोर्डले फोटोग्राफीको कोर्षमा आधारित ४० जनालाई फोटोग्राफी सम्बन्धी तालिम प्रदान गर्नेछ। यसको लागतमा महानगरपालिकाको ८० प्रतिशत र बोर्डको २० प्रतिशत लागत सहभागिता हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *