अवरुद्ध इरान-अमेरिका वार्ता: मुख्य मुद्दामा सहमति नहुँदा कूटनीतिक प्रयास संकटमा
काठमाडौं। लामो समयदेखि जारी इरान र अमेरिकाबीचको वार्ता पछिल्लो समय गम्भीर गतिरोधमा फसेको छ। दुवै पक्षबीच पाकिस्तानकाे मध्यस्थतामा वार्ता भए पनि मुख्य रणनीतिक र सैन्य मुद्दाहरूमा कुरा नमिल्दा शान्ति प्रक्रियाले गति लिन नसकेको हो।
विशेषगरी अप्रिल ७ मा युद्धविरामको घोषणा भएपछि पाकिस्तानको इस्लामावादमा भएको उच्चस्तरीय छलफल निष्कर्षविहीन भएपछि कूटनीतिक प्रयासहरू थप जटिल बनेका छन्।
वार्तामा प्रगति नहुनुको प्रमुख कारण परमाणु कार्यक्रम र युरेनियमको भण्डारणमा देखिएको विवाद हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो समृद्ध युरेनियमको भण्डार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने र युरेनियम संवर्द्धनलाई शून्यमा झार्नुपर्ने अडान राख्दै आएका छन्।
तर, इरानले यसलाई आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको विषय भन्दै युरेनियम कतै हस्तान्तरण नगर्ने र शान्तिपूर्ण प्रयोजनका लागि संवर्द्धन जारी राख्ने स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयले अमेरिकी दाबीलाई खण्डन गर्दै यस्तो विषय वार्ताको एजेन्डा नै नभएको बताएपछि दुई पक्षबीचको विश्वासको खाडल अझ गहिरिएको छ।
अर्को मुख्य अवरोधका रूपमा रणनीतिक महत्त्वको हर्मुज जलसन्धि र समुद्री नाकाबन्दी देखिएको छ। इरानले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम राख्दै त्यहाँबाट हुने तेल पारवहनलाई रणनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको छ।
अमेरिकाले इरानमाथि लगाएको कडा आर्थिक र समुद्री नाकाबन्दी नहटाएसम्म वार्ता अघि नबढ्ने इरानी पक्षको अडान छ। अर्कोतर्फ, अमेरिकाले इरानले पहिले आफ्नो परमाणु र मिसाइल कार्यक्रममा सम्झौता नगरेसम्म नाकाबन्दी खुकुलो नपार्ने “अधिकतम दबाब” को नीति लिएको छ।
इरानले हालै पेस गरेको नयाँ प्रस्तावमा परमाणु मुद्दालाई पछिका लागि थाती राखेर पहिले युद्ध अन्त्य र समुद्री मार्ग खोल्ने विषय उठाए पनि वासिङ्टनले यसलाई अस्वीकार गरिदिएको छ।
यसका साथै, इरानभित्रको आन्तरिक राजनीतिक दबाब र कट्टरपन्थी समूहहरूको प्रभावले गर्दा पनि कूटनीतिक लचकता देखाउन तेहरानलाई गाह्रो भइरहेको छ। इरानी नेतृत्वले अमेरिकाले पटक-पटक प्रतिबद्धता तोडेको र धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप लगाउँदै आएको छ।
वासिङ्टनमा पनि इरानको क्षेत्रीय प्रभाव र मिसाइल क्षमतालाई लिएर कडा नीति लिनुपर्ने दबाब छ। दुवै देशले एक-अर्काका सर्तलाई ‘अव्यावहारिक’ र ‘अत्यधिक’ भनेर टिप्पणी गरेपछि हाल वार्ताको वातावरण लगभग ठप्प जस्तै बनेको छ, जसले गर्दा पश्चिम एसियामा अनिश्चितता र तनावको स्थिति अझै केही समय लम्बिने देखिएको छ।







डिसी नेपाल







Facebook Comment