म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६४ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

डिसी नेपाल
१९ वैशाख २०८३ ७:१३

म्याग्दी। म्याग्दी जिल्लाको धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन ठूला जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन निर्माणको प्रक्रिया थालेका छन्।

धवलागिरि गाउँपालिकाको जेल्तुङदेखि मालिका गाउँपालिकाको डाँडाखेत सबस्टेसनसम्म १६ दशमलव ४८ किलोमिटर लामो ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो।

यस कोरिडोरको निर्माणपछि म्याग्दीखोला, माथिल्लो म्याग्दी र अपर म्याग्दी जलविद्युत् आयोजनाबाट उत्पादन हुने कुल १६४ दशमलव ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने सुनिश्चित भएको छ।

प्रसारण लाइन निर्माणका लागि करिब ४२ करोड ६२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ भने यस अन्तर्गत ५७ वटा टावरहरू निर्माण गरिनेछन्। आयोजनाका लागि कुल ३० हेक्टरभन्दा बढी जग्गा प्रयोग हुनेछ, जसमा २१ दशमलव ९९ हेक्टर राष्ट्रिय वन र बाँकी निजी जग्गा समावेश छ।

वन क्षेत्र प्रयोग गरेबापत सरकारलाई जग्गा सट्टाभर्ना गर्ने र निजी जग्गाको हकमा मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराइने आयोजनाले जनाएको छ। वातावरणीय प्रभाव न्यूनीकरण र सामाजिक सहयोगका लागि समेत बजेट विनियोजन गरिएको यस आयोजनालाई आगामी आठ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट वातावरणीय परीक्षणको कार्यसूची स्वीकृत भएसँगै निर्माणले गति लिएको यो आयोजना निजी क्षेत्रका प्रवद्र्धकहरूको साझेदारीमा निर्माण हुन लागेको हो।

जलविद्युत् आयोजनाका प्रमुखहरूका अनुसार, प्रसारण लाइनको अभावमा विद्युत् खेर जान नदिन यो कोरिडोर समयमै सम्पन्न गर्नु अनिवार्य रहेको छ। आयोजनाको निर्माण सम्पन्न भएपछि म्याग्दीको जलविद्युत् विकासमा ठूलो टेवा पुग्नुका साथै राष्ट्रिय ऊर्जा सङ्कट समाधानमा समेत म्याग्दी कोरिडोरको महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *