मेवा-चांगे १३२ केभी प्रसारण लाइनको सबस्टेशन विस्तारका लागि पुनः बोलपत्र आह्वान
काठमाडौं। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले मेवा–चाङ्गे (ढुङ्गेसाँघु) १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढुङ्गेसाँघु सबस्टेशन विस्तारका लागि पुनः बोलपत्र आह्वान गरेको छ। कम्पनीले सबस्टेशनमा १३२ केभी बे एक्सटेन्सन र सम्बन्धित भूमिगत केबलिङ कार्यका लागि डिजाइन, आपूर्ति, जडान तथा परीक्षणका लागि योग्य बोलपत्रदाताहरूबाट प्रस्ताव माग गरेको हो।
राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमा अगाडि बढाइने यस आयोजनाका लागि कम्पनीले निश्चित योग्यता समेत तोकेको छ। जसअनुसार आवेदन दिने निर्माण व्यवसायी वा कम्पनीको पछिल्लो १० वर्षमध्ये उत्कृष्ट ३ वर्षको औसत वार्षिक कारोबार कम्तीमा १८ करोड रुपैयाँ हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा १० करोड ८० लाख रुपैयाँ बराबरको एउटा समान प्रकृतिको आयोजना सफलतापूर्वक सम्पन्न गरेको अनुभव हुनुपर्ने अनिवार्य शर्त राखिएको छ।
इच्छुक बोलपत्रदाताले १० हजार रुपैयाँ दस्तुर बुझाएर सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमार्फत यस प्रक्रियामा सहभागी हुन सक्नेछन्। सूचनाअनुसार विद्युतीय बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ वैशाख २३ गते मध्याह्न १२:०० बजेसम्म तोकिएको छ।
यस आयोजनामा सहभागी हुन चाहनेले ४६ लाख रुपैयाँ बराबरको बोलपत्र जमानत राख्नुपर्नेछ, जसको मान्यता अवधि बोलपत्र पेश गर्ने अन्तिम मितिदेखि १२० दिनसम्म हुनुपर्नेछ। आयोजनाको प्रि–बिड बैठक २०८३ वैशाख १४ गते आयोजना गरिनेछ भने पेश गरिएका बोलपत्रहरू वैशाख २३ गते दिउँसो २:०० बजे खोलिने कम्पनीले जनाएको छ। यो आयोजना सम्पन्न भएपछि मेवा र चाङ्गे क्षेत्रको विद्युत प्रसारण प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment