काठमाडौंमा ‘गीता मैत्री मिलन २०८३’ आयोजना हुँदै
विश्वभर फैलिँदै गीता जागरण अभियान, नेपालमा विशेष आध्यात्मिक सम्मेलन
काठमाडौं। विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा “गीता मैत्री मिलन कार्यक्रम २०८३” आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी वैशाख २७ गते २०८३ (मे १०, २०२६) आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौँमा आयोजना हुनेछ।
कार्यक्रम सफल बनाउनका लागि गीता परिवार नेपालका संस्थापका एवम् संरक्षक जय किशन सारडाको अध्यक्षतामा मुल समारोह समिति र संस्थाका अध्यक्ष श्रीमती सारिका अग्रवाल र सचिव रामप्रसाद अधिकारीसहित पदाधिकारी, गीता प्रशिक्षक, गीतासेवीहरु रहेको विभिन्न समिति, उपसमिति गठन गरी कार्यक्रमलाई व्यवस्थित गरिएको छ।
आध्यात्मिक तथा नैतिक जागरणलाई केन्द्रमा राखेर आयोजना हुन लागेको उक्त कार्यक्रमले नेपालमा गीता चेतनाको विस्तार गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। श्रीमद्भगवद्गीताको शाश्वत ज्ञानलाई आधुनिक र सरल माध्यमबाट जनमानससम्म पुर्याउने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियान विश्वव्यापी रूपमा फैलिरहेको छ।
वि.सं. २०७७ मङ्सिर ३ गते (पाण्डव पञ्चमी) स्थापना भएको गीता परिवार नेपालमा हाल १५ हजारभन्दा बढी सेवी प्रत्यक्ष रूपमा आबद्ध रहेको जनाइएको छ। सभाहलको सीमित क्षमताका कारण करिब १५०० जनाको भौतिक सहभागिता रहने भए पनि यूट्युब, जुमलगायत अनलाइन माध्यममार्फत लाखौँले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
गीता परिवार नेपालको आयोजनामा सम्पन्न हुने कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्द देव गिरीजी महाराजको सान्निध्य रहनेछ। उनी श्रीराम जन्मभूमि तीर्थ क्षेत्र न्यासका कोषाध्यक्षसमेत हुन्। त्यसैगरी कार्यक्रममा डा. आशू जी गोयल (अन्तर्राष्ट्रिय कार्याध्यक्ष-गीता परिवार एवं प्रोग्राम कोअर्डिनेटर-लर्न गीता) लगायत गीता परिवारका उच्च पदाधिकारी तथा साधकहरूको पनि सहभागिता रहने जनाइएको छ।
“गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रमअन्तर्गत बिहान ९ बजे कमलादी गणेशस्थान बाट शोभायात्रा सुरु भई प्रज्ञा भवन पुगेर मूल सभाको शुभारम्भ गरिनेछ।
कार्यक्रम सफल बनाउन मूल समारोह समिति तथा विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको छ। नेपालको भौगोलिक विकटता र प्राविधिक चुनौतीका बाबजुद गाउँ-बस्ती तथा नगरसम्म गीता चेतना विस्तार गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको आयोजकको भनाइ छ।
आयोजकले “गीता मैत्री मिलन २०८३” कार्यक्रममा सहभागी भई आध्यात्मिक जागरणको अभियानलाई सफल बनाउन सम्पूर्ण धर्मानुरागी, सञ्चारकर्मी तथा सर्वसाधारणमा हार्दिक निमन्त्रणा गरेको छ।







डिसी नेपाल







Facebook Comment