शुभश्री जगदम्बा सिमेन्टको वित्तीय अवस्थामा उत्साहजनक सुधार: आम्दानी दोब्बर नजिक
काठमाडौं। नेपालको सिमेन्ट उद्योगमा स्थापित नाम शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले पछिल्लो एक वर्षमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको आम्दानी र नाफा दुवैमा आकर्षक वृद्धि देखिएको हो।
सौरभ समूहअन्तर्गत सञ्चालित यस कम्पनीले आर्थिक वर्ष २०२४ को तुलनामा २०२५ मा आफ्नो सञ्चालन आम्दानीलाई करिब दोब्बर बनाएको छ। सन् २०२४ मा १ अर्ब ९० करोड ३० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी २०२५ मा बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। आम्दानीसँगै कम्पनीको सञ्चालन नाफा पनि ३.१ प्रतिशतबाट सुधार भई ४.४ प्रतिशत पुगेको छ।
कम्पनीको वित्तीय स्वास्थ्यलाई दर्शाउने प्रमुख सूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ। ऋण र नेट वर्थ (Debt-to-Equity) अनुपात १.३ बाट घटेर ०.५ मा झरेको छ, जसले कम्पनीको पूँजी संरचना पहिलेभन्दा निकै बलियो भएको सङ्केत गर्छ।
त्यस्तै, ब्याज कभरेज अनुपातमा पनि व्यापक सुधार भई ०.५ बाट २.७ पुगेको छ। यसले कम्पनीले आफ्नो ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा उल्लेख्य वृद्धि गरेको पुष्टि गर्दछ।
आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले १ अर्ब ५५ करोड ५० लाख रुपैयाँको कारोबार गरिसकेको छ। यसले चालू वर्षमा पनि सुधारको यो गति कायम रहने अपेक्षा गरिएको छ। पर्साको वीरगञ्जस्थित प्लान्टमार्फत दैनिक २,४०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्ने यस कम्पनीले ओपिसी, पिपिसी र पिएससी गरी तीनै प्रकारका सिमेन्ट बजारमा उपलब्ध गराउँदै आएको छ।
वित्तीय अवस्थामा सुधार देखिए पनि कम्पनीका अगाडि तरलता व्यवस्थापनको मुख्य चुनौती रहेको प्रतिवेदनले औँल्याएको छ। कार्यशील पूँजीको आवश्यकता उच्च रहेका कारण नगद प्रवाहमा केही दबाब देखिएको छ। चालू वर्षको मध्यसम्म कार्यशील पूँजी अनुपात करिब ५२ प्रतिशत पुग्दा बैंकबाट लिइने ऋणको भार बढेको छ।
यसबाहेक, सिमेन्ट उद्योगमा रहेको तीव्र प्रतिस्पर्धा, माग र आपूर्ति बीचको असन्तुलन तथा कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले भविष्यमा नाफामा प्रभाव पार्न सक्ने जोखिम कायम रहेको विश्लेषण गरिएको छ। सन् २००७ मा स्थापना भएको यो कम्पनी सन् २०२४ जुलाईदेखि पब्लिक लिमिटेडमा रूपान्तरण भई थप पारदर्शी र सुदृढ बन्ने दिशामा अघि बढेको छ।







डिसी नेपाल







Facebook Comment