जनताको घर भत्काउने सरकारी कदम विरुद्ध एकजुट हुन हर्क साम्पाङको आह्वान

डिसी नेपाल
२७ वैशाख २०८३ १०:०६

हेटाैंडा। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबारविहीन बनाउने कार्यको आफू सदैव विरुद्धमा रहेको बताएका छन्।

चितवन जाने क्रममा हेटौंडा–११ स्थित थानाभर्‍याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूसँगको संक्षिप्त छलफलमा बोल्दै उनले नेपालमा व्याप्त सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिए।

राज्यले जनताको घर भत्काएर उनीहरूलाई विस्थापित गर्नु मानवीय र संवैधानिक हिसाबले समेत गलत भएको बताउँदै उनले नागरिकको बाँच्न पाउने मौलिक हकको संरक्षण गर्नुपर्ने बताए।

अध्यक्ष साम्पाङले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै संसदको पहिलो बैठकमै सुकुम्बासी र अव्यवस्थित बसोबासीका मुद्दालाई मुख्य एजेन्डाका रूपमा उठाएको स्मरण गराए।

सरकारका कामहरूको मूल्यांकन गर्दै उनले जनविरोधी र नकारात्मक कार्यहरू विरुद्ध सधैं खबरदारी गर्दै आएको दाबी गरे। अन्य जनप्रतिनिधिहरू जनताको पक्षमा नउभिए पनि आफू एक्लै भए पनि जनताको हकहितका लागि लडिरहने विश्वास दिलाउँदै उनले संविधानले दिएको आवासको अधिकार कसैले खोस्न नहुने बताए।

राज्यले अहिले सुकुम्बासी बस्तीहरूमा आतंक फैलाउने र घर भत्काउने जुन काम गरिरहेको छ, त्यो निरङ्कुश कदम भएको उनको तर्क थियो।

मेचीदेखि महाकालीसम्मका सम्पूर्ण जनता एकजुट भएर यस्ता कदम विरुद्ध आवाज उठाउनुपर्ने सुझाव दिँदै उनले सडक र सदन दुवै ठाउँबाट पीडितको पक्षमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनताको दुःखलाई नजिकबाट बुझेको हुनाले आफू सधैंभरि उनीहरूको साथ र सहयोगमा रहने कुरामा उनले जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *