परीक्षा सकिएपछिको उल्लास: विद्यार्थीहरूको खुसीयाली (फोटोफिचर)
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आज देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। परीक्षाको अन्तिम दिन केन्द्रहरूबाट बाहिरिँदै गर्दा परीक्षार्थीहरूको अनुहारमा छुट्टै चमक र राहत देखिन्थ्यो।
परीक्षा हलबाट बाहिरिनेबित्तिकै विद्यार्थीहरूले एक-अर्कालाई अबिर दलेर र अंकमाल गरेर खुसी साटासाट गरेका थिए। कतिपय विद्यालयका विद्यार्थीहरूले विद्यालयको पोसाकमै सामूहिक तस्बिर (ग्रुप सेल्फी) खिचेर सामाजिक सञ्जालमा ‘लास्ट डे अफ स्कुल लाइफ’ भन्दै पोस्ट गरिरहेका देखिन्थे।
काठमाडौँको एउटा परीक्षा केन्द्र बाहिर भेटिएकी सुप्रिया अर्यालले भनिन्, “धेरै महिनादेखि परीक्षाको तनाव थियो, आजबाट ठूलो भारी बिसाए जस्तो महसुस भइरहेको छ। अब केही दिन साथीहरूसँग घुम्ने र त्यसपछि मात्र भविष्यको पढाइबारे सोच्ने योजना छ।” उनीजस्तै धेरै विद्यार्थीहरू अब उच्च शिक्षाको तयारीमा लाग्नुअघि केही समय विश्राम लिने सोचमा छन्।
स्कुल जीवनको अन्तिम खुड्किलो मानिने कक्षा १२ को परीक्षा सकिएसँगै कतिपय विद्यार्थीहरू भावुक पनि देखिएका थिए। वर्षौँदेखिका सहपाठी साथीहरू अब फरक-फरक कलेज र विषयतिर लाग्ने हुनाले यो बिदाइ उनीहरूका लागि महत्त्वपूर्ण क्षण बनेको छ।
राजधानीका प्रदर्शनी मार्ग, मीनभवन, र नयाँ बानेश्वर क्षेत्रका परीक्षा केन्द्रहरू बाहिर विद्यार्थीहरूको उल्लेख्य उपस्थिति र उनीहरूले मनाएको उत्सवले सडकको रौनक नै बदलिएको थियो। अभिभावकहरू पनि आफ्ना छोराछोरीको परीक्षा राम्रो भएकोमा खुसी देखिन्थे।
तस्बिरः सक्षम घिमिरे, नेपाल न्यूज बैंक























No ads found for this position


डिसी नेपाल
Facebook Comment