नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै

डिसी नेपाल
२८ वैशाख २०८३ १२:३८

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने व्यवस्था सुरु गरेको छ।

यस नयाँ व्यवस्थासँगै अब नयाँ ई-सिम लिनका लागि सेवाग्राही स्वयं उपस्थित भएर टेलिकमको कार्यालय जानुपर्ने बाध्यता अन्त्य भएको छ। डिजिटल रूपान्तरणलाई आत्मसाथ गर्दै टेलिकमले घरमै बसेर सिम कार्ड प्राप्त गर्न सकिने प्रविधिको विकास गरेको हो।

नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले टेलिकमको आधिकारिक पोर्टल esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको ‘Get New Prepaid eSIM’ विकल्पमा क्लिक गर्नुपर्नेछ।

पोर्टलमा दिइएको निर्देशनअनुसार आफ्नो विवरण दर्ता गरिसकेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत तोकिएको रकम भुक्तानी गर्न सकिनेछ। भुक्तानी सफल भएपछि प्रणालीले ई–सिमको क्यूआर कोड उपलब्ध गराउनेछ, जसलाई मोबाइल सेटको सेटिङमा गएर स्क्यान गरी सहजै सक्रिय बनाउन सकिन्छ।

टेलिकमले यसअघि नै प्रयोगमा रहेको भौतिक सिमलाई ई–सिममा परिवर्तन गर्ने सुविधा अनलाइनमार्फत उपलब्ध गराउँदै आएकोमा अहिले नयाँ सिम नै अनलाइनबाट लिने सुविधा थप गरेको हो।

यसका साथै नयाँ भौतिक सिम लिनका लागि आवश्यक फारम भर्न, ग्राहक विवरण (केवाईसी) दर्ता गर्न वा विवरण अद्यावधिक गर्नका लागि समेत सोही अनलाइन पोर्टलमा व्यवस्था मिलाइएको छ। यस कार्यले सेवाग्राहीको समय बचत हुनुका साथै टेलिकमको सेवा थप प्रविधिमैत्री र सहज हुने विश्वास लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *