यस्ता छन् कोशी सरकारका मन्त्रिपरिषद् बैठकका निर्णय
विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक तथा सवारी संरचनासम्बन्धी सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।
मन्त्रिपरिषद्ले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् खोज, उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्तै,प्रदेश बीउबिजन नियमावली–२०८३ तथा प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली–२०८३ लाई पनि स्वीकृति प्रदान गरिएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत बैठकले गरेको छ।
त्यसैगरी प्रदेश खेलकुद ऐन, पहिलो संशोधन अध्यादेश–२०८३ स्वीकृत गर्ने निर्णय भएको छ। प्रदेश राजधानी केन्द्रित रहेको वृहत विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समिति गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सकको विशेष प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि–२०८२ लाई पनि स्वीकृति दिएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment