रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, प्रथम महाधिवेशन मुख्य एजेण्डा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेकाे निर्देशनअनुसार आगामी वैशाख ३० गतेका लागि बैठक बोलाइएको हो।
काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बिहान ९:०० बजे बस्ने तय भएको उक्त बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। पार्टीले आफ्नो सांगठनिक इतिहासमै पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय महाधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ।
बैठकको मुख्य कार्यसूची आगामी महाधिवेशनको मिति तय गर्ने, व्यवस्थापन समिति गठन गर्ने र महाधिवेशनको मोडालिटीबारे छलफल गर्ने रहेको छ। यसका साथै ‘विविध’ शीर्षकअन्तर्गत वर्तमान राजनीतिक परिस्थिति, सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीको भूमिका र सांगठनिक सुदृढीकरणका विषयमा समेत छलफल हुने बताइएको छ।
पार्टी स्थापनाको छोटो समयमै मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका लागि यो महाधिवेशन नीति र नेतृत्व दुवै दृष्टिले कोशेढुङ्गा सावित हुने नेताहरूको विश्वास छ। बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू समेत निर्माण गर्ने सम्भावना रहेको छ।







डिसी नेपाल







Facebook Comment