कांग्रेस इतिहासकै चुनौतीपूर्ण मोडमा रहेको नेता महतको भनाइ, पार्टीभित्रको एकलौटी निर्णयप्रति आपत्ति
काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य-मान्यता स्थापनाका लागि लामो संघर्ष गरेको कांग्रेस पार्टी अहिले अत्यन्तै कठिन र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संविधान निर्माणको अगुवाइ गर्ने र मुलुककै सर्वाधिक लोकप्रिय शक्ति भएर पनि कांग्रेस अहिले आन्तरिक र बाह्य दबाबमा परेको उल्लेख गरे।
भदौ २३ र २४ को घटनापछि विकास भएका राजनीतिक घटनाक्रमले वर्तमान सरकारको प्रवृत्तिमाथि नै प्रश्न उठाएको भन्दै उनले यस्तो बेला कांग्रेसको भूमिका के हुने भन्ने विषय पार्टीपंक्तिमा गम्भीरताका साथ खड्किएको महसुस भएको धारणा राखे।
नेता महतले पार्टीको जग बसाल्ने विपी कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेर जस्ता नेताहरूको समयमा कायम रहेको सहमतिमूलक संस्कार कमजोर हुँदा अहिलेको समस्या उत्पन्न भएको दाबी गरे।
विगतमा नेतृत्वले अरु नेताहरूको सल्लाह र सहमतिलाई उच्च प्राथमिकता दिने परम्परा रहे पनि पछिल्लो समय त्यसलाई तोडिएकाले पार्टीमा संकट आएको उनको तर्क थियो।
विपी कोइराला नेतृत्वमा रहँदा समेत गणेशमान सिंह लगायतका नेताहरूसँग सल्लाह लिने पद्धतिले पार्टीलाई बलियो बनाएको स्मरण गर्दै उनले अहिले त्यो क्रमभंग भएकोमा चिन्ता व्यक्त गरे।
विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्वको कार्यशैलीप्रति टिप्पणी गर्दै महतले बहुसंख्यक महासमिति सदस्यहरूको सहभागिता र समर्थन बिना गरिने एकलौटी निर्णयले पार्टीलाई एकताबद्ध बनाउन नसक्ने स्पष्ट पारे।
सबै पक्षलाई समेट्न नसक्ने नेतृत्वले कांग्रेसलाई बलियो बनाउन नसक्ने भन्दै उनले राजनीतिक चुनौतीहरूको सामना गर्न र पार्टीको भविष्य सुरक्षित गर्न सबैलाई एकताबद्ध बनाएर लैजानु नै आजको मुख्य आवश्यकता भएकोमा जोड दिए।
वर्तमान चुनौतीपूर्ण समयमा पार्टीलाई पुरानै गौरवशाली र सहमतिमूलक बाटोमा फर्काउनुपर्ने उनको माग थियो।







डिसी नेपाल







Facebook Comment