सत्तारुढ दलले संसद्लाई मनपरी चलाएको हर्क साम्पाङको आरोप
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसद्लाई आफ्नो अनुकूल र मनपरी ढंगले सञ्चालन गरिरहेको गम्भीर आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरी संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर जनप्रतिनिधिका प्रश्नको जवाफ दिनुको सट्टा निरन्तर पन्छिरहेको बताए।
“प्रधानमन्त्री कहिल्यै नआउने र आफूले टेबल गर्नुपर्ने विषयहरू अरूलाई पठाउने काम भइरहेको छ,” उनले भने, “सत्तारुढ दलले संसद्लाई आफ्नो मनखुशी चलाइरहेका छन्। सांसदहरूलाई अध्ययनका लागि पर्याप्त समय नै नदिई ठेलीका ठेली किताब थमाएर भोलिपल्टै पढेर आउनू भन्नु उचित होइन।”
सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै उनले गहन बहसका लागि समय नदिइएकोमा गुनासो गर्नुभयो। संसद्मा उठाइएका गम्भीर विषयहरूलाई सरकारले हल्का रूपमा लिएको उनको ठहर छ।
आफ्नो पार्टीको शक्तिको चर्चा गर्दै साम्पाङले श्रम संस्कृति पार्टीलाई कसैले पनि कमजोर ठानेर हेप्न नसक्ने चेतावनी दिए। उनले आफ्नो पार्टीले संसद्मा जनताका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र सरकारका गलत कदमहरूको डटेर सामना गर्ने प्रतिबद्धता समेत जनाए।
प्रधानमन्त्रीको उपस्थिति र संसद्को गरिमाको विषयलाई लिएर साम्पाङले गरेको यो बहिष्कारले सदनमा अन्य विपक्षी दलहरूको विरोधलाई थप बल पुर्याएको देखिएको छ।







डिसी नेपाल







Facebook Comment