टेलिकमद्वारा ५८ देशका लागि अन्तर्राष्ट्रिय कलको ‘पल्स’ परिमार्जन
काठमाडौं। नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि (Retail Pulse Duration) मा परिमार्जन गरेको छ। टेलिकमले विभिन्न ५८ वटा देशहरूका लागि नयाँ पल्स दर कायम गरेको जानकारी दिएको छ।
टेलिकमको प्रेस विज्ञप्ति अनुसार, यो नयाँ व्यवस्था भोलि अर्थात् २०८३ जेठ १ गतेदेखि लागू हुनेछ । अब तोकिएका ५८ देशहरूमा अन्तर्राष्ट्रिय एक्सेस कोडहरू ‘००’, ‘१४२४’, ‘१४२५’ र ‘१४४५’ प्रयोग गरी कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ । यसअघि फरक समयावधि रहेकोमा अब एक मिनेटको पल्सका आधारमा शुल्क गणना गरिनेछ।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम यो दर कायम गरिएको हो । यो व्यवस्था लागू हुने प्रमुख देशहरू भारत र चीन रहेका छन्।
यसैगरी एसियाली देशहरूमा इन्डोनेसिया, मकाउ, माल्दिभ्स, म्यानमार, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, भियतनाम र टर्की रहेका छन्। अन्य देशहरूमा अल्जेरिया, ब्राजिल, इथियोपिया, फिजी, मेक्सिको, न्यूजिल्याण्ड, नाइजेरिया, दक्षिण अफ्रिका, सुडान लगायत ५८ देशहरू रहेकाे टेलिकमले जनाएकाे छ।
नेपाल टेलिकमले विभिन्न देशका दूरसञ्चार प्रदायकहरूको नेटवर्कमा कल गर्नका लागि छुट्टाछुट्टै एक्सेस कोडको व्यवस्था गरेको छ ।
ग्राहकले कल गर्दा सुरुमा एक्सेस कोड (जस्तै: ००), त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र अन्त्यमा मोबाइल वा टेलिफोन नम्बर डायल गर्नुपर्नेछ । यो परिमार्जनले अन्तर्राष्ट्रिय स्तरमा हुने सञ्चारलाई थप व्यवस्थित बनाउने विश्वास टेलिकमले लिएको छ।







डिसी नेपाल







Facebook Comment