सरकारको नीति तथा कार्यक्रम समावेशी छैन : सांसद विक
काठमाडौं। प्रतिनिधि सभाकी सदस्य पार्वती विकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी नभएको टिप्पणी गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा हुने व्यवहारले भावी पुस्तामा गलत सन्देश जानसक्ने भन्दै चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, ‘मलाई डर लागिरहेको छ, यो गरिमामय सदनमा एकले अर्कोलाई सक्काउन सहयोग त गरौँला र सक्कौँला। तर हाम्रा सन्ततीले के सिक्लान् भन्ने डर छ। सरकारले नीति तथा कार्यक्रम टेबल गर्यो, छोटो समयमा धेरै मेहनत गरेर ल्याएको बुझिन्छ, प्रयासका लागि सरकारलाई धन्यवाद।’
उनले नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भएपनि धेरै वर्ग र क्षेत्रका मुद्दा समेटिन नसकेको बताइन्।
‘नीति कार्यक्रमलाई हेर्दा डिजिटलमैत्री शासनलाई ध्यान दिन खोजिएको छ। सुशासनमा बढी जोड दिइएको छ। तर ३० प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको बारेमा बोलेको छैन,’ उनले भनिन्।
विकले सरकारले राष्ट्रिय गौरवका आयोजना बन्द गर्ने संकेत गरेको जस्तो देखिएको पनि टिप्पणी गरिन्। साथै दलित महिला, मधेशी महिला, अल्पसंख्यक महिला, कर्णाली र सुदूरपश्चिमका महिलाका विषय नीति कार्यक्रममा नसमेटिएको आरोप लगाइन्।
उनले बालबालिकाका विषयमा सामान्य रूपमा उल्लेख भए पनि गरिबीको रेखामुनि रहेका बालबालिका, अनाथालयमा रहेका बालबालिका तथा सुधारगृहमा रहेका बालबालिकाको विषयमा स्पष्ट कार्यक्रम नदेखिएको बताइन्। दुर्गम क्षेत्र कर्णाली र सुदूरपश्चिम का लागि पनि विशेष कार्यक्रम नरहेको उनको भनाइ थियो।
‘यो नीति तथा कार्यक्रमले दलित महिला, मधेशी महिला, अल्पहसंख्यक महिला, कर्णाली र सुदुरपश्चिमका महिलाको विषयमा बोलेको देखिदैन। बालबालिको बारेमा बोलेको छ तर गरिवीको रेखामुनि हुर्केका बालबालिका, अनाथलयमा रहेका बालबालिका र सुधारगृहमा रहेका बालबालिकाको विषयमा बोलेको देखिदैन। दुर्गम क्षेत्र कर्णाली र सुदुरपश्चिमका लागि विशेष कार्यक्रम केही छैन,’ उनले भनिन्।







डिसी नेपाल







Facebook Comment