प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ: ऊर्जामन्त्री श्रेष्ठ

डिसी नेपाल
१ जेठ २०८३ १६:५५

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।

मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अवलोकन गर्ने क्रममा प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्।

“प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ, सरकार तपाईँहरूको साथमा छ, परिणाममुखी भएर काम गर्नुहोस्”, मन्त्री श्रेष्ठले भने। उनले मुलुकको समग्र ऊर्जा विकासका लागि प्रसारण पूर्वाधार निर्माण नै सरकारको मुख्य प्राथमिकता रहेको बताए।

मन्त्री श्रेष्ठले कम्पनीलाई स्पष्ट खाकासहित अगाडि बढ्न र निर्धारित लक्ष्य समयमै प्राप्त गर्न निर्देशन दिनुभयो । कम्पनीको कार्यसम्पादनमा आवश्यकपर्ने बजेट तथा दक्ष जनशक्तिको कुनै पनि कमी हुन नदिने उनले स्पष्ट पारे। उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए।

सो अवसरमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको जलविद्युत् क्षेत्रको विकास र ऊर्जा सुरक्षा सुनिश्चित गर्न प्रसारण ग्रिडले काम गरिरहेको बताए। अवलोकनमा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौत, प्रशासन शाखा प्रमुख रुद्रसिंह तामाङलगायतको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *