संविधान संशोधन कार्यदलद्वारा जेनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान
काठमाडाैं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योलहरू चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ।
कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाहरूको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको स्पष्ट पारेका छन्। सोहीअनुरूप जेनजीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उनले प्रष्ट पारे।
आज साँझ ५ बजेका लागि तय गरिएको छलफलका सन्दर्भमा केही जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिको विषयलाई लिएर असन्तुष्टि र बहिष्कारका कुरा उठाएपछि संयोजक शाहले त्यसको वास्तविकताबारे प्रष्ट पारेका हुन्।
संयोजक शाहका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू अहिले कार्यान्वयनकै चरणमा छन् र जेन्जी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगिसकेको छ।
यो कार्यदलले आयोजना गरेको छलफल विशेष गरी संविधान संशोधनका लागि सुझाव संकलन गर्ने फरक उद्देश्यका साथ तय गरिएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनले आग्रह गरे। कार्यदलले जेन्जीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी पर्याप्त समय व्यवस्थापन गरेको छ।
बोल्नका लागि समय कम दिइएको भन्ने जस्ता केही भ्रमपूर्ण प्रचारहरू भइरहेकोप्रति संकेत गर्दै संयोजक शाहले छलफलमा कसैका आवाजलाई पनि नजरअन्दाज नगरिने विश्वास दिलाए। उनले कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन निमन्त्रित सबै जेन्जीहरूलाई अनुरोध गरेका छन्।
कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालाहरूसँगको छलफल प्रक्रिया सुरु गरेको थियो। यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग विस्तृत परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालाहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
देशको शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता अत्यन्त महत्त्वपूर्ण विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूची अनुसार यो प्रक्रियालाई अघि बढाइएको हो।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत सम्मिलित यस कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्नका लागि युवा तथा जेन्जीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विशेष जोड दिएको छ।







डिसी नेपाल







Facebook Comment