घरजग्गा कारोबारमा क्रमिक सुधार: वैशाखमा मात्रै ६ अर्ब २६ करोडभन्दा बढी राजस्व संकलन

डिसी नेपाल
४ जेठ २०८३ ११:५२

काठमाडौं। मुलुकभित्र घरजग्गा सम्बन्धी कारोबारमा क्रमशः सुधार आउन थालेको पछिल्लो तथ्यांकले देखाएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको घरजग्गा कारोबार र राजस्व संकलन सम्बन्धी विवरण अनुसार, गत चैत महिनाको तुलनामा वैशाखमा राजस्व संकलनमा वृद्धि भएको छ।

विभागका अनुसार, गत चैतमा घरजग्गा कारोबारबाट कुल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ राजस्व संकलन भएको थियो। सो रकममा वृद्धि भई वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन्।

वैशाख महिनामा संकलित कुल राजस्वमध्ये सेवा करबापत ३४ करोड ४० लाख ६३ हजार ४०२ रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ३१ करोड ९५ लाख ५० हजार ११७ रुपैयाँ र पूँजीगत लाभकरबापत २ अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ रुपैयाँ संकलन भएको छ। यसैगरी, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत ४ करोड ४८ लाख ७८ हजार ३१८ रुपैयाँ प्राप्त भएको विभागको तथ्यांक छ।

यसअघि चैत महिनामा सेवा करमार्फत ३६ करोड १ लाख ५५ हजार ५७१ रुपैयाँ र रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब २२ करोड ८४ लाख ६० हजार ५६२ रुपैयाँ संकलन भएको थियो। त्यस्तै, पुँजीगत लाभकरबापत २ अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ६२ लाख ९९ हजार ७८० रुपैयाँ बराबरको रकम संकलन भएको थियो।

पछिल्ला केही महिनाको तथ्याङ्कलाई हेर्दा घरजग्गा बजारमा उत्साहजनक सुधार भइरहेको देखिन्छ। गत फागुन महिनामा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ मात्र राजस्व उठेकोमा माघ महिनामा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ बराबरको राजस्व संकलन भएको विभागले जनाएको छ। माघ र फागुनको तुलनामा चैत र वैशाखको यो तथ्यांकले घरजग्गा क्षेत्रको चलायमानता थप बढेको संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *