एमालेद्वारा विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान, ओलीमाथि दबाब बढेको संकेत
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गरेको छ।
भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यसअघि केन्द्रीय समितिले गरेको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो।
एमाले केन्द्रीय समितिको २०८२ साउन ५–७ गतेको बैठकले भण्डारीको सदस्यता रोक्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई सच्याउँदै सचिवालयले उनलाई पुनः पार्टीमा भित्र्याएको हो।
पार्टी सदस्यता दिने निर्णय हुनुअघि आइतबार मात्रै एमालेले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो औपचारिक कार्यक्रममा स्थान दिएको थियो। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले बल्खुस्थित पुरानो पार्टी कार्यालय (मदननगर) मा आयोजना गरेको सभामा उनी प्रमुख अतिथि बनेकी थिइन्।
स्मृति सभामा एमाले उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई तथा सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की, राजन भट्टराई र खगराज अधिकारीलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
२०७९ फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्। सोही समयमा उनले एमालेको सदस्यता नवीकरणका लागि प्रक्रिया अगाडि बढाएकी थिइन्।
यसअघि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २०८२ साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गराइएको थियो। सदस्यता नपाएकै कारण उनले २०८२ मंसिर २७ देखि पुस ३ गतेसम्म सञ्चालन भएको एमालेको ११औँ महाधिवेशनमा समेत भाग लिन पाएकी थिइनन्।
तर, भदौमा भएको ‘जेनजी’ आन्दोलन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोर्नुपरेको खराब चुनावी नतिजापछि पार्टीभित्र अध्यक्ष ओलीमाथि नेतृत्व छाड्न चौतर्फी दबाब बढेको छ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलसमेत ओलीको विपक्षमा उभिएपछि बदलिएको समीकरणका बीच भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भएको बुझिएको छ।







डिसी नेपाल







Facebook Comment