प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ भोलि नै हुने

डिसी नेपाल
४ जेठ २०८३ २०:३४

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ भोलि नै हुने भएको छ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय सीमा तोकेर सर्वसाधारणका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। उक्त निर्धारित समयावधिभित्र प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्।

समितिका अनुसार प्राप्त भएका उजुरीहरू खोल्नका लागि भोलि बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा उजुरीहरू खोलेर समितिमा आबद्ध सांसदहरूलाई अध्ययनका लागि वितरण गरिने कार्यतालिका छ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सांसदहरूलाई उजुरी वितरण गरेलगत्तै भोलि बिहान १० बजेको आसपासबाट उजुरकर्ताहरूसँग छलफल सुरु गरिनेछ।

उजुरकर्ताहरूसँगको छलफल सकिएपछि भोलि नै निरन्तर बैठक राखेर प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको सुनुवाइ प्रक्रिया अघि बढाइने सभापति श्रेष्ठले जानकारी दिए।

सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *