भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
नारायणगढ (चितवन)। दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ। शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो।
आज मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश पन्तले जानकारी दिए। सामान्यतया दैनिक करिब दुई हजार ५०० हाराहारी बिरामी आउने गरेमा पछिल्लो समय चाप बढेको उनले बताए।
सेवाग्राहीको घुइँचो बढेकाले अस्पतालबाट अन्य अस्पतालमा प्रेषण (रिफर) गर्न समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन्। रत्ननगर–१२ बाट आँखाको उपचारका लागि रिफर माग्न आउनुभएका रामविलास लामिछानेले थप उपचार गर्न अन्य अस्पताल जाँदा रिफर आवश्यक पर्ने भनिएपछि भरतपुर अस्पताल आएकामा भीडका कारण समयमा काम नभएको गुनासो गरे।
उनले आफू बिहान ८ः०० बजे आउँदा एक हजार २०० नम्बरमा पालो परेको बताए। बिमाको रिफरका लागि धेरै समय कुर्न नपर्ने व्यवस्था हुनुपर्ने भन्दै लामिछानेले सरोकार भएका सबैको ध्यानाकर्षण गराए।
भरतपुर–२० चनौलीका नवराज भुसालले आँखाको उपचारका लागि रिफर लिन धेरै समय कुर्नुपरेको गुनासो गरे। भरतपुर–५ का रामकृष्ण अधिकारीले नियमित उपचारका लागि आउने बिरामी भएकाले दुई दिन ओपिडी बन्द हुँदा सोमबार अस्पतालमा भीड बढेको बताए।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले दुई दिन बिदा परेकाले सोमबार बिरामीको चाप बढेको बताए। उनले भने, “ओपिडीको समय बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म हो। टिकट बिहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म पाइन्छ। तर अधिकांश सेवाग्राही बिहानै ५-६ बजेदेखि लाइनमा बस्नुहुन्छ। अस्पताल ५ः०० बजेसम्म खुला रहने भएकाले भीडभाड नगरी सेवा लिन आग्रह गर्दछौँ।”
उनका अनुसार बिहानैदेखि सेवाग्राही लाइनमा बस्ने गरेकाले बिहानको समयमा बढी भीड देखिएको हो। ओपिडी सेवा दिनभर सञ्चालन हुने भएकाले सहज रूपमा सेवा लिन सकिने उनले बताए। उनले अस्पतालले रिफर गरेर बाहिर पठाउने बिरामीका लागि छुट्टै कक्षमार्फत सेवा दिने तयारी गरिरहेको जानकारी दिए। एक-दुई दिनभित्र रिफर सेवालाई व्यवस्थित बनाइने उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment