उद्यमी खगेन्द्र आचार्य कांग्रेसको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार समिति प्रमुखमा मनोनीत

डिसी नेपाल
५ जेठ २०८३ ११:०२

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार विभिन्न १२ वटा उपसमितिहरू गठन गरेको छ। पार्टीले विशिष्टीकृत क्षेत्रहरूमा नीतिगत स्पष्टता र रणनीति तय गर्न भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, शिक्षा र उद्यमशीलता लगायतका विधा समेटेर उपसमितिहरू गठन गरेको हो।

गठित एक दर्जन उपसमितिहरूमध्ये महत्त्वपूर्ण मानिएको ‘उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार समिति’ को प्रमुखमा खगेन्द्र आचार्य मनोनीत भएका छन्। आचार्य उद्यमशीलताको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा समेत सम्मानित भइसकेका प्रखर व्यक्तित्व हुन्।

यसअघि नेपाली कांग्रेसकै उद्यमशीलता तथा साना तथा मझौला व्यवसाय विभागमा सदस्य सचिवको रूपमा सक्रिय भूमिका निभाइसकेका आचार्यले पार्टीभित्र उद्यमशील सोच, स्टार्टअप संस्कृति र युवा लक्षित आर्थिक अवसरहरूको विस्तारका लागि निरन्तर आवाज उठाउँदै र नीतिगत पैरवी गर्दै आएका छन्।

मोरङमा जन्मिएका आचार्य लामो समयदेखि स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै आबद्ध भएर काम गरिरहेका छन्। उनी ‘ग्लोबल इन्टरप्रेनरसिप बुटक्याम्प’ (Global Entrepreneurship Bootcamp) का संस्थापक हुन्, जसले विश्वका १०० भन्दा बढी देशका १८०० भन्दा बढी उदीयमान उद्यमी तथा युवा नवप्रवर्तकहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क, लगानीकर्ताहरूको पहुँच र उद्यम विकासका उत्कृष्ट अवसरहरू प्रदान गर्दै आएको छ। विश्वभर उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा नेतृत्व पहलहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्य ‘इन्टरनेश्नल योङ इन्टरप्रेनरसिप एशोसियसन’ का समेत संस्थापक हुन्।

स्टार्टअप र नवप्रवर्तनका विषयमा उनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT), स्ट्यानफोर्ड युनिभर्सिटी र पेकिङ युनिभर्सिटी जस्ता विश्वका अत्यन्तै प्रतिष्ठित प्राज्ञिक संस्थाहरूबाट उच्च शिक्षा तथा विशेष अनुभव हासिल गरेका छन् ।

नेपाली कांग्रेसले वर्तमान परिप्रेक्ष्यमा युवा उद्यमशीलता, नवप्रवर्तन र देशमै रोजगारी सिर्जना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । सोहीअनुरूप यस उपसमितिलाई थप प्रभावकारी र परिणाममुखी बनाउन पार्टीले यसै क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञ तथा जानकार आचार्यलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *