प्रस्तावित प्रधान न्यायाधीश डा. शर्माको आजै शपथ र पदबहालीको तयारी

डिसी नेपाल
५ जेठ २०८३ ११:२०

काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्मालाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराई पदबहाली गराउने तयारी भइरहेको छ।

संवैधानिक परिषद्ले गत वैशाख २४ गते डा. शर्मालाई ३३ औँ प्रधान न्यायाधीशका रूपमा सिफारिस गरेको थियो।

सर्वोच्च अदालतले सरकारलाई असहयोग गर्ने नीति लिएको बुझाइका कारण सत्तापक्षले द्रुत गतिमा पदबहालीको प्रक्रिया अघि बढाएको राजनीतिक वृत्तमा चर्चा छ।

प्रस्तावित प्रधान न्यायाधीश डा. शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए, जसको सुनुवाइ प्रक्रिया मंगलबार बिहानैदेखि सुरु भइसकेको छ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताका अनुसार आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन गराई भोलि बुधबारदेखि नै मुद्दाको कजलिस्ट (पेसी) तोक्न सक्ने गरी तयारी अगाडि बढाइएको हो।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सोको जानकारी संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ। संसद्को सूचनाका आधारमा राष्ट्रपति कार्यालयले शपथ ग्रहणको तालिका तय गर्ने प्रचलन रहिआएको छ।

आजै बेलुकी ६ बजेभित्र शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालयसँग आवश्यक समन्वय भइरहेको ती नेताले दाबी गरे। शपथ ग्रहणलगत्तै डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर पदबहाली गर्ने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *