पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
५ जेठ २०८३ १६:२५

झापा। पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५ः१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर (नेपाली रु ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली रु एक लाख ३६ हजार ६५७) समेत बरामद गरिएको बताए।

पक्राउ परेका भारतीय नागरिकबाट सवारीचालक अनुमति, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्डडिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको जनाइएको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आजै झापा जिल्ला अदालतमा पेस गरिने बताइएको छ।

निज पाठक भारतको पानीटङ्कीनाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँच क्रममा पक्राउ परेका थिए। सशस्त्र प्रहरी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरूले शङ्का लागेर संयुक्त जाँच गर्दा भारतीय नागरिक पाठकले बोकेको कालो झोलाभित्र अवैध सुन र विदेशी मुद्रा फेलापरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *