दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
वीरगञ्ज । व्यवसायी एवं अभियानकर्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ।
सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका कार्यमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। प्रसाईंमाथि हाल विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न अभिव्यक्ति, सार्वजनिक कार्यक्रमका गतिविधि तथा सामाजिक सञ्जालमा पोष्ट गरिएका सामग्रीहरूमाथि थप विवरण र प्रमाण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment