विपक्षीलाई अर्थमन्त्रीको आग्रह- आफ्ना कुरा जस्ताको तस्तै बजेटमा राख्न अर्को चुनावसम्म पर्खौं

डिसी नेपाल
५ जेठ २०८३ १७:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा आफ्ना दृष्टिकोण र कुराहरू जस्ताको तस्तै समावेश गराउन विपक्षी दलहरूलाई अर्को निर्वाचनसम्म पर्खिन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले यस्तो टिप्पणी गरेका हुन्।

विपक्षी सांसदहरूले बजेटको प्राथमिकतामा आफ्ना एजेन्डाहरू नसमेटिएको भन्दै आलोचना गरेपछि जवाफमा मन्त्री वाग्लेले लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत जनताले अनुमोदन गरेका विषय र एजेन्डालाई नै सरकारले नीति तथा बजेटको रूपमा अघि सार्ने स्पष्ट पारे।

उनले वर्तमान सरकारको प्राथमिकता र जनमत नै बजेटको मुख्य आधार भएको उल्लेख गर्दै आफ्ना शतप्रतिशत कुराहरू बजेटमा खोज्ने हो भने आगामी निर्वाचन जितेर आउनुपर्ने बताए।

छलफलका क्रममा अघिल्ला सरकारहरूले सुरु गरेका आयोजनाहरू कटौती हुन लागेको भनी व्यक्त चासोको संवोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले राज्यको अविच्छिन्न उत्तराधिकारको सिद्धान्तलाई सरकारले पूर्ण सम्मान गर्ने बताए।

जनमतका हिसाबले पुराना सबै योजना बोकिरहन आफूहरू बाध्य नभए पनि राज्यको निरन्तरता र दायित्वलाई बोध गर्दै विगतका अधुरा आयोजनाहरूलाई सरकारले निरन्तरता दिएको उनको भनाइ थियो।

यस पटकको बजेट केवल परम्परा धान्ने खालको नहुने दाबी गर्दै अर्थमन्त्री डा. वाग्लेले कार्यान्वयनको पाटोलाई केन्द्रमा राखेर नै सिद्धान्त र प्राथमिकता तय गरिएको स्पष्ट पारे। सरकारले हाल ‘मिसन मोड’ (लक्ष्य केन्द्रित अवधारणा) मा काम गरिरहेको भन्दै उनले स्रोत र साधनको सही सदुपयोग गरी नतिजामुखी बजेट ल्याउन सरकार प्रतिबद्ध रहेको संसद्लाई आश्वस्त पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *