विभिन्न ११ स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

डिसी नेपाल
५ जेठ २०८३ २०:४३

काठमाडौं। पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौंसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार काठमाडौंमा मात्रै तीन ठाउँमा रामघाट, चन्द्रागिरि र तीनचुलीमा आगालागीका घटना भएको छ। तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा एक जना घाइते भएका छन्।

यसैगरी, दाङको गिठेपानीमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी हुँदा एकजना घाइते भएका छन्। अछामको मङ्गलसेनस्थित घर नजिकै खेतमा बालिएको आगोमा पर्न गरी एक दुई वर्षीय बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो। यसैगरी, विभिन्न जिल्लामा विपद्जन्य घटनामा परेर पाँच जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार ती विपद्का घटनाबाट ७७ लाख ९२ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढी बाराको जितपुरमा दाल बोकेको लु२ख ५९४१ नम्बरको ट्रकमा तार सर्ट भई आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *