वर्षमान पुनको आरोप- सरकारले संसद छल्न खोज्यो, रास्वपाका सांसद निरीह देखिए

डिसी नेपाल
६ जेठ २०८३ १५:४०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सत्तापक्षका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छन्।

बुधबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले सरकारले जस्तो बजेट ल्यायो, त्यसलाई हुबहु स्वीकार गर्नुपर्ने बाध्यात्मक अवस्थामा सत्तापक्षका सांसदहरू पुगेको बताए।

बजेट निर्माण र छलफलको प्रक्रियामा सांसदहरूले आफ्नो क्षेत्रका मुद्दा र जनताका आवश्यकता बलियो गरी उठाउन नसकेको उनको आरोप छ। ‘सांसदहरूले आफ्ना क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउने छन्,’ पुनले भने।

पूर्वमन्त्री समेत रहेका पुनले सरकारले संसदको अधिवेशन ढिलो गरी आह्वान गरेका कारण बजेट केन्द्रित छलफलहरू हतारमा सकाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे। उनले सरकारको नियत नै संसदलाई छल्ने र पर्याप्त बहस हुन नदिने देखिएको भन्दै आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए।

सरकारको नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ मात्रै भएको टिप्पणी गर्दै नेता पुनले बजेट भने नीति तथा कार्यक्रमभन्दा फरक र जनताको हितमा केन्द्रित भएर आउनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *