सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
६ जेठ २०८३ १५:५७

काठमाडौं । बाँके र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

बाँकेको कोहलपुरमा भएको त्रिपक्षीय ठक्कर र मोरङको विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट उनीहरूको ज्यान गएको हो।

बाँकेको कोहलपुर नगरपालिका-३ भुषाल चोक नजिकै सडकमा भे २ स ९०४४ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक ४२ वर्षीय निम बहादुर पुनको मंगलबार राति मृत्यु भएको छ।

भे १ त ६४१३ नम्बरको ट्याक्टरमा बा १५ च ८३७० नम्बरको भ्यान ठक्कर खाँदा उक्त भ्यानमा रिक्सा समेत ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पुनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका भ्यान चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि सडकमा एएस ०१ एफसी ०९१० नम्बरको ग्याँस बुलेट गाडीको ठक्करबाट साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जतुवा बस्ने अन्दाजी ४५ वर्षीय गिरिजानन्द ठाकुर र उनकी १२ वर्षीया छोरी गरीमा ठाकुर रहेका छन्।

विराटनगरबाट रानीतर्फ जाँदै गरेको ग्याँस बुलेटले मंगलबार साँझ उनीहरूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बाबु–छोरीको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरीले यी दुवै दुर्घटनाका सम्बन्धमा मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *