सरकार र अधिकारकर्मी रुबी खानबीच ५ बुँदे सहमति, २३ औँ दिनमा तोडियो अनशन
काठमाडौं। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग राख्दै विगत २३ दिनदेखि आन्दोलनरत अधिकारकर्मी रुबी खान र सरकारबीच पाँच बुँदे सहमति भएको छ।
सहमति भएसँगै खानले आफ्नो २३ औँ दिनको आमरण अनशन समेत अन्त्य गर्नुभएको छ। बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाउनुभएको हो।
वार्ताका लागि सरकारका तर्फबाट प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्रीका विज्ञ दाहाल सम्मिलित विशेष टोली नेपालगन्ज पुगेको थियो।
उक्त टोलीले सोमबारदेखि नै खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो भने सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारी टोलीप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको सुक्ष्म अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ।
त्यस्तै, अनशनरत खानले उठाएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरूउपर प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
यसैगरी खानविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा माथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ भने यस मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक लगायतका कर्मचारीहरूको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छुट्टै छानबिन गर्ने र कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने बुँदा समेटिएको छ।
साथै, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको जिउधनको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति समेत भएको छ।







डिसी नेपाल







Facebook Comment