सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

डिसी नेपाल
६ जेठ २०८३ २२:२५

कास्की। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना खाली गर्ने तयारी गरेको छ।

यसअघि गत वैशाख ३ गते अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको महानगरले आज पुनः बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्न भनेको छ। महानगरले संरचना हटाउन दिएको ३५ दिनको समयसीमा यही जेठ ८ गते सकिँदैछ।

महानगरले सोही समयभित्र बसपार्कस्थित जग्गामा बसोबास गरिरहेका सबै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई विवरण पेस गर्न सूचना सार्वजनिक गरेको हो।

महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी पहिचानका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यसहितको विवरण माग गरिएको बताए। महानगरले सुकुमवासीसँग माग गरेको विवरणमा घरमूलीसहित परिवारका सदस्यहरुको नामथर, पेसा, शैक्षिक योग्यता र दक्षता, अशक्त, असहाय, वृद्ध वा सुत्केरी र सम्पर्क नम्बर रहेको छ।

“वास्तविक सुकुमवासीको पहिचानको काम भइरहेको छ। बसपार्क निर्माणका लागि सर्वदलिय, सर्वपक्षीय र सरोकारवाला सबैबाट सहयोगको प्रतिबद्धता आएको छ। स्वयं सुकुमवासीहरुले समेत बसपार्क बनाउनका लागि सहयोग गर्छौं भन्नुभएको छ। वास्तविक सुकुमवासीको व्यवस्थापनका लागि अहिले विवरण सङ्कलनको काम सुरु भएको हो”, प्रमुख आचार्यले भने।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्टाइएको थियो। विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो। बसपार्कका लागि जमिन छुट्टाएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर २६ रोपनीमा खुम्चिएको छ। बसपार्कको जग्गामा ठूलो सङ्ख्यामा सुकुमवासी छन्। पोखरा महानगरपालिकाले गरेको अध्ययनअनुसार बसपार्कको जमिनमा ४०० बढी सुकुमवासी परिवार बस्दै आएका छन्।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङ महानगरले छानबिन गरेर वास्तविक सुकुम्वासीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउँछन्। “हामीलाई उपयुक्त वैकल्पिक अवस्था पहिला महानगरले गरोस् र अनि बल्ल बसपार्कका लागि छुट्टाइएको सम्पूर्ण जग्गामा बसपार्क बन्नुपर्दछ। त्यसका लागि सुकुमवासी बाधक बन्दैनौँ”, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *