प्रतिनिधिसभा बैठक आज बस्दै: निर्वाचन र मतदाता नामावली संशोधनसहित विभिन्न विधेयकमाथि छलफल हुने
काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव र दफावार छलफलका कार्यसूचीहरू तय गरिएका छन्।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्।
यसका साथै मन्त्री गौतमले नै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि पनि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकको अर्को मुख्य कार्यसूचीमा आर्थिक र वित्तीय क्षेत्रसँग सम्बन्धित विधेयक रहनेछ। जसअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त विधेयकमाथि सांसदहरूबाट प्राप्त भएका विभिन्न संशोधनहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। सबै प्रक्रिया पूरा भएपछि अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने अन्तिम प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment