शिक्षक र कर्मचारीको क्षमता बढाउन तीन नयाँ पाठ्यक्रम स्वीकृत
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार भव्यताका साथ सम्पन्न भएको छ।
बैठकले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि दूरगामी महत्त्व राख्ने तीन वटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ।
शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ।
परिषद्को यो महत्त्वपूर्ण बैठकले स्वीकृत गरेका नयाँ पाठ्यक्रमहरूमा ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ रहेका छन्।
मन्त्रालयका अनुसार, नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनसँगै प्रशिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि हुनेछ, जसले गर्दा विद्यालय तहका शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने विभिन्न तालिमहरू आगामी दिनमा थप प्रभावकारी र नतिजामुखी बन्ने अपेक्षा गरिएको छ।
यसैगरी, नवस्वीकृत प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल, व्यावहारिक र दूरदर्शी शैक्षिक नेतृत्वको विकास गर्ने विश्वास लिइएको छ। यस पाठ्यक्रमले विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्याउने मन्त्रालयको ठहर छ।
अर्कोतर्फ, शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि लक्षित सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तीनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने मुख्य लक्ष्य राखेको छ। यस नयाँ व्यवस्थाबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा ठूलो मद्दत पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ।







डिसी नेपाल







Facebook Comment