सत्ती भन्सार कार्यालयले साढे ३ लाख बढीका बरामद सामान लिलाम गर्दै

डिसी नेपाल
७ जेठ २०८३ ११:४२

काठमाडौं। कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चोरी पैठारीको अभियोगमा बरामद भई कार्यालयमा दाखिला भएका विभिन्न मुद्दाका मालवस्तुहरू खुला बोलकबोल (लिलाम बढाबढ) मार्फत बिक्री गर्ने भएको छ।

भन्सार विभागले बुधवार एक सूचना जारी गर्दै आगामी जेठ २१ गते दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कार्यालय परिसरमै सामानहरू लिलाम गर्न लागिएको जनाएको हो।

भन्सार ऐन, २०८२ को दफा ९२(१) (ख) तथा भन्सार नियमावली, २०८३ को नियम ८५(२) बमोजिम ती सामानहरू ‘जस्तो अवस्थामा छन् सोही अवस्थामा’ प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिनेछ।

लिलाम हुन लागेका वस्तुहरू विभिन्न १० वटा मुद्दामा पक्राउ परेका मालसामानहरू हुन्, जसको कुल प्रारम्भिक न्यूनतम मूल्याङ्कन ३ लाख ७० हजार ४८० रुपैयाँ तोकिएको छ।

लिलामीमा राखिएका मुख्य सामानहरूमा पाउडर, गुलाब जल, लिपिस्टिक, विभिन्न क्रिम, ताल्चा र पंखाको बेस लगायतका कस्मेटिक तथा खुद्रा सामग्रीहरू रहेका छन्।

यसैगरी विभिन्न मोडलका मोबाइल फोल्डर, केनभर डिस्प्ले, ब्याक प्यानल, ८ पिस पानी तान्ने मोटर, १६ थान बोरिङ पाइप र ६ थान पुराना १२ भोल्टका ब्याट्रीहरू पनि लिलाम गरिँदैछ। यसबाहेक लेडिज सुट, धोती, चप्पल, स्टील तथा प्लास्टिकका भाँडाकुँडाहरू र साइकल एवं अटोका ट्युबहरू पनि लिलामीको सूचीमा समावेश छन्।

भन्सार कार्यालयले लिलाम प्रक्रियालाई व्यवस्थित बनाउन केही अनिवार्य सर्तहरू समेत तोकेको छ। बोलकबोल प्रक्रियामा सहभागी भई सामान सकार गर्दा कबोल गरेको रकमको १० प्रतिशत बराबरको रकम तत्कालै नगद रूपमा कार्यालयमा दाखिला गर्नुपर्नेछ।

व्यापारिक प्रयोजनका तथा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने मालवस्तुहरूको हकमा भ्याटमा दर्ता भएका व्यावसायिक फर्महरूले मात्र बोलकबोलमा भाग लिन पाउनेछन्।

सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिको लिलाम स्वीकृत गरिनेछ भने सकारकर्ताले कबोल गरेको अंक र नियमानुसार लाग्ने भ्याटसहित सम्पूर्ण कर रकम ७ दिनभित्र बुझाएर मालसामान उठाई लैजानुपर्ने नियम बनाइएको छ।

यसका साथै, प्रचलित कानुन अनुसार गुणस्तर परीक्षण गर्नुपर्ने मालवस्तुहरूको हकमा लिलाम सकारकर्ता आफैँले आफ्नै खर्चमा सम्बन्धित निकायबाट परीक्षण गराई उपभोग योग्य प्रमाणित भएपछि मात्र बिक्री वितरण वा उपभोग गर्न पाउनेछन्।

निश्चित इजाजतपत्र चाहिने सामानहरू इजाजतवाला फर्मलाई मात्र लिलाम गरिनेछ र कसैको लिलाम स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार भन्सार कार्यालयमै सुरक्षित रहने सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *