गण्डकीपूर्व वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री
फाइल फाेटाे।
काठमाडौं। पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा भारी वर्षासमेत भएको छ। तराई क्षेत्रमा तातो बढिरहेका बेला केही जिल्लामा वर्षा भइरहेको छ। आज साँझ अबेर प्राप्त वर्षा मापनको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको केचनाकवलमा १५२ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो।
यस्तै सिन्धुपाल्चोकमा ८३.२ मिलिमिटर वर्षा भएको छ। सङ्खुवासभामा ५८, गोरखामा झण्डै ४९, तनहुँमा ६०.२ र कास्कीमा ५७.६ मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा हो। यस्तै लमजुङमा ४६ मिलिमिटर वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार भोलि जेठ ८ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ।
लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको सूचना अधिकारी कायस्थले बताए। आज दिपायल र नेपालगञ्जमा ४१ डिग्रीभन्दा माथि अधिकतम तात्रफम तापक्रम पुगेको छ।







डिसी नेपाल







Facebook Comment