किओच बाल अस्पताल ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण छ : सुशीला कार्की
काठमाडौं। काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको किओच काठमाडौं बाल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल निर्माणप्रति खुसी व्यक्त गरिन्।
कार्यक्रममा बोल्दै उनले अस्पतालको स्थापनाले बालबालिका तथा गरिब विपन्न वर्गलाई निस्वार्थ रूपमा सेवा पाउने अवसर सृजना गरेको उल्लेख गरिन्। उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, यसको निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू र जगद्गुरु शंकराचार्यको उपस्थिति र आशीर्वादले संस्थालाई थप बलियो र अटल बनाएको विचार व्यक्त गरिन्।
उनले भनिन्, हाम्रो निम्ति त भारतमा ताजमहल बनेजस्तै संस्था बन्यो। साह्रै खुसी लागेको छ। सबैभन्दा ठूलो कुरा भनेको बालबालिका, गरिब सबैले एउटा निस्वार्थ रूपमा सेवा पाउने भए। नयाँ संस्थाको प्रादुर्भाव भएको छ। संस्थाको जन्म प्रतिष्ठित व्यक्तित्व मीनबहादुर गुरुङज्यू र उहाँको धर्मपत्नीको तनमन धनबाट, लगनशीलताबाट बन्यो। साथै जगद्गुरु शंकराचार्यबाट उद्घाटन हुनु खुशीको कुरा हो।’
कार्यक्रममा व्यवसायी मीनबहादुर गुरुङले सन्त महात्माहरूको दर्शन, आशीर्वचन र उपदेशले आफूलाई समाज सेवाको सत्कर्ममा लाग्न प्रेरणा मिलेको बताए। उनले भविष्यमा पनि लोककल्याणकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशन गुरुङले व्यक्तिगत ७१ करोडमा उक्त अस्पताल भवन निर्माण गरिदिएका हुन्। सो अवसरमा अस्पतालको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरिएको थियो।
भारतका जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम्ले अस्पतालको नवनिर्मित भवन साँचो हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले विद्या, चिकित्सा र दानले नै पुन्य कमाइने भएकाले त्यसले नै मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने धारणा राखे। उनले हरेक व्यक्तिलाई भगवानले केही न केही दिएको बताउँदै पैसाले मात्रै पनि केही नहुने हुँदा पुन्य कामका लागि खर्च गर्न तयार हुनुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment