बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन : रहबर अन्सारी
काठमाडौं। प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सामान्य विवाद मात्र भएको तर ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन्। अन्सारीले हिडिरहेको दृश्यलाई लखेटिएको भनेर केही मिडियाले अतिरञ्जित गरेको बताए।
‘केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनमा सुझाव संकलनका लागि आएका थियौं। कारवाहीमा परेका केही नेताहरुले सामान्य विवाद झिकेका हुन्। अहिले सबै समाधान भइसक्यो। नियोजित रुपमा केही पार्टी निकटका मिडियाहरुले घट्नालाई अतिरञ्जित गर्न खोजे। हिडिरहेको दृश्यलाई कैद गरेर लखेटिएको भनेर मिडियाबाजी मात्र भएको हो,’ उनले भने,‘सबै विवाद समाधान भइसक्यो र कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ।’
खासगरी पार्टीबाट निष्कासित व्यक्तिहरूले होहल्ला गर्न खोजेको उनको भनाइ थियो। कार्यक्रममा सहभागी हुन काठमाडौंबाट पुगेका अतिथिलाई प्रहरीले नजिककै कोठमा बस्न भनेर लगेको दृश्य लखेटिएको नभएको उनले बताए।
जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले विवाद झिकेका थिए।
पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो।
तर, शनिबारको कार्यक्रममा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि कार्यकर्ताहरुले आक्रोश पोखेका थिए।







डिसी नेपाल







Facebook Comment