पुस्तक समीक्षा

झर्‍यो जिन्दगी: मानवीय मूल्य-मान्यता र परदेशीका पीडा

ज्योति पौडेल
१० जेठ २०८३ ७:४४

सर्वप्रथम, “झर्‍यो जिन्दगी” कथा-संग्रहकी कथाकार, भाषा-साहित्यकी सहप्राध्यापक मेरी आदरणीय दिदी उषा अधिकारीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस कृतिले नेपाली कथा साहित्यमा गहिरो छाप छोड्ने विश्वास ममा छ। यही विश्वासलाई आधार मान्दै, पुस्तक अध्ययनपछि अनुभूत भएका केही विचारहरू यहाँ संक्षेपमा प्रस्तुत गर्न चाहन्छु।

पुस्तकका सबै कथाहरू छोटा, सरस र एकै बसाइमा पढेर सकिने खालका छन्। कथा लेखनका मूल तत्त्व-भाव, विषयवस्तु र संरचना सबै कथामा सन्तुलित रूपमा प्रस्तुत भएका छन्। कथाकारले समाजका विकृति, भेदभाव, प्रकृति प्रेम, यथार्थवादी चिन्तन तथा दैनिक जीवनका सुख-दुःखका विविध पक्षहरूलाई सशक्त रूपमा उजागर गरेकी छन्।

स्थान, परिवेश र समयको सन्तुलन कथाहरूको अर्को बलियो पक्ष हो। स्वदेश तथा विदेशका विभिन्न परिवेशलाई समेटिएका कथाहरूमा स्थानीय चालचलन, बोली-व्यवहार र जीवनशैलीको यथार्थ चित्रण पाइन्छ, जसले कथालाई अत्यन्त जीवन्त बनाएको छ।

भाषाशैलीको दृष्टिले पुस्तक उत्कृष्ट छ। सरल, सहज र कतिपय ठाउँमा जनबोलीको प्रयोग भएकाले यसले पाठकलाई पढिरहन प्रेरित गर्छ। प्रतीक र बिम्बको प्रयोग पनि प्रभावकारी एवं स्वाभाविक छ। शीर्षकहरू छोटा, अर्थपूर्ण र कथाको मूल भावसँग मिल्ने गरी चयन गरिएका छन्।

पात्र निर्माण सुन्दर ढंगले गरिएको छ। पात्रहरूको संवाद, व्यवहार र मनोविज्ञानले कथालाई गतिशील बनाएको छ। कथामा तृतीय पुरुष र प्रथम पुरुष दुवै शैलीको सन्तुलित प्रयोग पाइन्छ। पात्रहरू यति जीवन्त छन् कि पाठक उनीहरूसँगै हाँस्न, रमाउन र दुःखी हुन बाध्य हुन्छन्।

कथाहरूको मूल उद्देश्य पनि प्रस्ट छ- मानवता र मानवीय मूल्यहरूको संरक्षण, अनुशासित समाजको निर्माण तथा विश्व शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गर्नु। कथाकारले विभिन्न कथामार्फत समाजलाई सचेत गराउने कतिपय सत्प्रयासहरू गरेकी छन्।

‘झन्डावाल अफिस’ कथामार्फत नेपालका सरकारी कार्यालयहरूमा देखिने विविध प्रवृत्ति र विकृतिहरूलाई निकै जीवन्त ढंगले प्रस्तुत गरिएको छ। सरकारी कारिन्दाहरूको काम गर्ने शैली, उनीहरूको शारीरिक भाषा (नाक, मुख, आँखा, हात) र विभिन्न इसारासहित प्रयोग हुने रकमी भाषा कथामा प्रस्ट रूपमा देखिन्छ।

अझ चाकरी गर्नका लागि बिदाको दिनमा समेत हाकिमको घर धाउने प्रवृत्ति, तथा आफूलाई हाकिम ठान्नेहरू अफिसमा केवल ‘छड्के’ हान्न आउने र आफ्नो उपस्थितिको संकेत स्वरूप टोपी वा कोट कुर्सीमा झुन्ड्याएर अन्यत्र हराउने जस्ता विकृतिहरूलाई कथाले व्यंग्यात्मक रूपमा उजागर गरेको छ। अफिसहरूमा अदृश्य तर शक्तिशाली ‘माथि’ भन्ने शब्दको आडमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको पनि लेखिकाले सूक्ष्म तर प्रभावकारी आलोचना गरेकी छन्।

‘श्रीमानको चिठी’ कथामा एक युवतीको मनोविज्ञानलाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। श्रीमानबाट आउने चिठीप्रतिको आकर्षण, त्यसको प्रतीक्षामा बित्ने समय, र त्यसबीच मनमा चल्ने अनेक भावनात्मक उतारचढाव कथाको केन्द्रमा छन्।

कथाकारले रहस्यपूर्ण वस्तुहरू रहँदासम्म मात्र आकर्षक हुने र रहस्य खुलिसकेपछि त्यो आकर्षण घट्ने शाश्वत सत्यलाई सुन्दर रूपमा व्यक्त गरेकी छन्। चिठी नपाएको समय जति रोमाञ्चक र महत्त्वपूर्ण लाग्थ्यो, चिठी पाएपछि त्यो महत्त्व घट्दै जानु यसको उदाहरण हो। यस कथाले तत्कालीन सञ्चार माध्यमको अवस्थालाई पनि चित्रण गर्छ, जसले भविष्यका पाठकलाई अतीतको सञ्चार प्रणालीबारे झल्को दिन्छ।

कथाको अर्को विशेषता भनेको पाठकलाई अन्त्यसम्म बाँधिराख्ने क्षमता हो, जसले गर्दा पाठक स्वयं पनि युवतीको चिठी कहिले आउला र त्यसमा के लेखिएको होला भन्ने उत्सुकतामा डुबिरहन्छ।

‘संगी जामुनो र ऊ’ कथामा प्रकृति (विशेषतः जमुनाको रुख) र मानवीय सम्बन्धबीचको कडीलाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ। प्रारम्भमा प्राकृतिक संरचनाहरू हराउँदै गएको दुःखद चित्रण भए पनि अन्त्यमा प्रकृतिको पुनर्जन्म र निरन्तरतामा विश्वास व्यक्त गरिएको छ।

मानव जीवन सन्तानमार्फत अघि बढे झैँ, रुख-बिरुवाहरू पनि नयाँ पालुवाहरूबाट पुनः जीवन्त बन्छन् भन्ने भाव यहाँ देखिन्छ। यस सन्दर्भमा राष्ट्रकवि माधव घिमिरेका पंक्तिहरू “जन्मन्छ अर्को म मरे पनि रे, धर्ती सधैँ जीवनकी धनी रे” सँग कथाको मर्म मिल्दोजुल्दो देखिन्छ।

‘महत्त्वाकांक्षा र मेरो क्षितिज’ कथाले “घाँटी हेरी हाड निल्नु” भन्ने उखानलाई सजीव बनाएको छ। यसले मान्छेले आफ्नो क्षमता र सामर्थ्य अनुरूप जीवनयापन गर्नुपर्ने सत्यलाई स्पष्ट रूपमा उजागर गरेको छ। अनियन्त्रित महत्त्वाकांक्षा एक प्रकारको रोग सरह हो, जसले व्यक्तिलाई यथार्थबाट टाढा पुर्‍याउन सक्छ भन्ने सन्देश यस कथामा प्रभावकारी ढंगले अभिव्यक्त गरिएको पाइन्छ।

‘बाँस सुसाइरहन्छ’ कथाले उपयोगिता र सम्बन्धको विविध पक्षलाई देखाउँछ। उही बाँस कहिले विवाह जस्तो खुसीको अवसरमा मण्डप बनेर प्रयोग हुन्छ भने कहिले मृत्युशय्यामा (डोली बन्दा) प्रयोग भएर जीवनका दुई विपरीत पाटालाई जोड्दछ।

‘सय रुपैयाँको नोट’ कथाले समय र परिवेश अनुसार पैसाको महत्त्व कसरी परिवर्तन हुन्छ भन्ने देखाउँछ। यससँगै, मानव मनको अस्थिरता र सामान्य योगसम्बन्धी चेतनाको झल्को पनि कथामा पाइन्छ।

पुरानो समयमा कागले खबर पुर्‍याउने हल्काराको काम गर्थ्यो भन्ने प्रसंगलाई यस कथामा टोलकी एक दिदीको ‘यताको कुरा उता र उताको कुरा यता’ गर्ने बानीमार्फत व्यङ्ग्यात्मक पुष्टि गरिएको छ।

‘अमेरिका जाने रहर’ कथा निकै भावनात्मक छ, जसमा लेखिकाले आफ्नै जीवनसँग जोडिएको अनुभवलाई मार्मिक रूपमा उतारेकी छन्। मिजौरीबाट न्युयोर्कसम्मको यात्रामा भएको आत्मीय स्वागत, सानो नातिको जन्म र परिवारबीचको सम्बन्धले उत्पन्न गरेको भावनात्मक तरंग कथामा गहिरो रूपमा अनुभूत हुन्छ।

यो कथा पढेर म स्वयम् धेरै नै भावुक भएँ। यस यथार्थवादी र भावनात्मक कथाकी एक पात्र म पनि रहेछु भन्ने कुरा कथा पढेपछि मात्रै मैले थाहा पाएँ। दिदीहरू भर्खरै जन्मिएको सानो नातिसहित मिजौरीबाट न्युयोर्क आउँदा म र मेरो श्रीमानले खुल्ला दिलले उहाँहरूको स्वागत गरेको र यसबाट उहाँ साह्रै नै हर्षित र प्रभावित भई भावविभोर हुनुभएको चित्रण बडो मार्मिक ढंगले गरिएको रहेछ, सो पढ्दा मेरा आँखा रसाए।

मिजौरीमा आफ्नो भन्ने सुत्केरी छोरी र भर्खर जन्मिएको सानो नाति मात्र। त्यहाँ जाडोको समय, जताततै हिउँ र सुत्केरी छोरीको दुःख देखेर दिदीलाई साह्रै नरमाइलो लागेको रहेछ। उहाँहरू न्युयोर्क आउँदा पनि हिउँ त परिरहेकै थियो, तर मन प्रफुल्ल भएपछि हेर्ने दृष्टिकोण पनि बदलिँदो रहेछ।

हिउँ उही हो, तर मन रमाएकाले हिउँ सुन्दर हुन पुग्यो। यसले के देखाउँछ भने मन प्रसन्न हुँदा प्रकृति पनि सुन्दर र अनुकूल लाग्छ भने मन दुःखी हुँदा त्यही प्रकृति कठोर लाग्छ; अर्थात् यसले मानव दृष्टिकोणको परिवर्तनशीलतालाई उजागर गर्छ।

‘फेरि कहिले भेट होला’ कथाले ‘वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ’ भन्ने उखानलाई चरितार्थ गरेको छ। एक महिलाले बसमा यात्रा गर्दा एक युवकले उनलाई निस्वार्थ सहयोग गरे पनि उनको मनमा कतै त्यो युवकले आफ्नो ब्यागबाट पैसा त चोरेन भन्ने शंका र डरले स्थान लिन्छ। पाठक पनि अन्त्यसम्म उनको पैसा चोरी भयो कि भएन भन्ने कौतूहलतामा बाँधिरहन्छ।

‘निलो रङ, शान्तिको रङ’ कथामा फोहोरमा फालिएको एक जोडी चप्पललाई लिएर बटुवाले गरेका भिन्दाभिन्दै टिप्पणी र एउटी नारीसँग जोडिएको वेदना बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ। बुख्याचालाई बाँदरहरूले टुक्र्याए झैँ, नारीको जीवनलाई अमानवीय व्यवहारले छिन्नभिन्न बनाएको प्रतीकात्मक चित्रण यहाँ पाइन्छ। शान्तिको प्रतीक मानिने नीलो रङ नै यहाँ अशान्तिको संकेत बनेको छ।0

‘मेरी आवै’ कथा यथार्थ, आञ्चलिकता र भावनात्मक प्रेमले भरिएको छ। बालमनले नबुझेको आवैको माया, उनको जीवन, र समयसँगै उनी बस्ने बस्तीको बदलिँदो अवस्थाको चित्रणले पाठकलाई गहिरो अनुभूति गराउँछ। देवघाटमा बसाइ सरेको केही वर्षमै संसार छाडेर आवैको अस्तु नारायणी नदीमा मिसिएको प्रसंगले जीवनको अनित्यतालाई झल्काउँछ।

‘वसुधैव कुटुम्बकम्’ कथामा अस्ट्रेलियाको ब्रिसबेनस्थित साउथ बैंक क्षेत्रको वर्णन गर्दै कथाका पात्र विशाल र कमलाले सुरु-सुरुमा अरूको खिस्सी उडाए पनि पछि अरू झैँ स्विमिङ पुलमा पौडन पुग्नाले ‘जस्तो देश उस्तै भेष’ भन्ने उक्तिलाई चरितार्थ गरेको पाइन्छ।

‘झर्‍यो जिन्दगी’ शीर्ष कथाले विदेशप्रतिको अन्धमोहले निम्त्याउने पीडा र विडम्बनालाई छर्लङ्ग पारेको छ। अस्ट्रेलियाको समुद्री किनारमा बसेर एक पात्रले आफ्नो विगत सम्झन्छ- नेपालमा उसले गरेको संघर्ष, प्रेम, विदेश यात्रा, परिवार निर्माण र अन्ततः सम्बन्ध विच्छेदसम्मको यात्रा।

पत्नीले डाक्टर बनेपछि अर्को सम्बन्धमा लागेर उसलाई छोड्नु र ऊ घरबारविहीन हुनु; यी सबै घटनाले उसको जीवनलाई बालुवा झैँ हातबाट फुस्किँदै गएको अनुभूत गराउँछ। यहाँ बालुवा जीवनको सुन्दर प्रतीक बनेको छ, जसलाई जति समात्न खोजे पनि नियन्त्रण गर्न सकिँदैन। यस कथाले मानवताको ह्रास र सम्बन्धको विघटनलाई गहिरो रूपमा चित्रण गरेको छ।

‘सपनाको संसार’, ‘नखिचिएको फोटो’, ‘फेरि नफर्कने गरी’, ‘टेबुल गफ’ जस्ता अन्य कथाहरूमा कथाकार स्वयम्ले भने झैँ विदेशको मोहले ल्याउने अप्ठेरो परिस्थिति, विसंगति, सांस्कृतिक विचलन र मानवीय मूल्यहरूको अवमूल्यन दर्शाइएका छन्।

पुस्तकको आवरण पनि अत्यन्त अर्थपूर्ण छ। बालुवाबाट बनेको मानिसको हातले समातेको बालुवा झर्दै जानुले मानिसको जीवन नै झरिरहेको, र झरिरहेको पातले सम्बन्ध विच्छेदको संकेत गर्नु जस्ता प्रतीकहरूले पुस्तकको मूल भावलाई झल्काउँछन्। यसका आवरणकार साहित्यकार तथा इन्जिनियर भाइ राजीव घिमिरे स्वयम्ले आफ्नो फेसबुक पोस्टमा यसको सुन्दर विश्लेषण गरेका छन्।

अन्त्यमा, “झर्‍यो जिन्दगी” कथा-संग्रहको पूर्ण सफलताको कामना गर्दै आदरणीय दिदीलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दछु।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *