२० जना विद्यार्थीलाई निःशुल्क पढाइने

डिसी नेपाल
११ जेठ २०८३ २०:४८

हेटौंडा। हेटौंडा–४ नम्बर वडा कार्यालयद्वारा वडाका विद्यालयहरुसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ। वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविबीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागु हुने गरी यस्तो सम्झौता/प्रतिबद्वता भएको हो।

सम्झौता-प्रतिबद्वतापत्रमा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी मावि हेटौंडाका प्रअ सूर्यप्रसाद घिमिरे र आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईंले हस्ताक्षर गरेका छन्।

सम्झौतापत्रमा छात्रवृत्तिको मापदण्डमा अतिविपन्न, दलित, सीमान्तकृत, द्वन्द्वपीडित, भूमिहीन, अभिभावकविहीन, सडकबालबालिका, विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकुद, अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने छात्रछात्रा उल्लेख गरिएको छ।

दुवै विद्यालयमा १०-१० जना कक्षा–११ र १२ का विद्यार्थीहरुलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विद्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौतापत्रमा उल्लेख गरिएको छ।

विद्यालयहरुले चालु शैक्षिक वर्ष २०८३ देखि सम्झौता कार्यान्वयनमा ल्याउने र हरेक शैक्षिक वर्ष शुरुवातसँगै नवीकरण हुने सम्झौतामा उल्लेख गरिएको छ। आर्थिक अभावका कारण विद्यार्थी पढाइबाट बच्चित नहोऊन् भन्ने उद्धेश्यले पूर्णरुपमा निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको वडा अध्यक्ष सिग्देलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *