लुम्बिनी प्रदेशसभा बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

डिसी नेपाल
१२ जेठ २०८३ ८:३६

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३ र८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३ र८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।

बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेस गर्नुहुनेछ ।

त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३ र८४ को ‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रतिमुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेस गर्नुहुने कार्यसूची रहेको छ ।

प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेस गर्नेछन् भने उक्त प्रस्तावलाई प्रदेशसभा सदस्य जमुना ढकालले समर्थन गर्नेछन् । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने जनाइएको छ ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।

प्रस्तावमाथि छलफलपश्चात् प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *