कन्सल्टेन्सी क्षेत्रमा नियमन होइन त्रास सिर्जना भयो : पुजन चाम्लिङ
काठमाडौं। कन्सल्टेन्सी व्यवसायी पुजन चाम्लिङले पछिल्लो समय सरकारले कन्सल्टेन्सी क्षेत्रमाथि गरेको अनुगमन र कारबाही प्रक्रियाप्रति आपत्ति जनाउँदै नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनको माग गरेका छन्।
मंगलबार अर्थ बजार डटकमद्वारा आयोजित आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले पछिल्ला दिनमा कन्सल्टेन्सीहरूमा गरिएको छापा र पक्राउ प्रक्रियाले व्यवसायिक वातावरणमा त्रास सिर्जना भएको बताए।
उनका अनुसार अनुसन्धान र नियमन आवश्यक भए पनि पूर्वअध्ययनबिनाको एकाएक कारबाहीले वैध व्यवसायसमेत प्रभावित भएको छ।
चाम्लिङले केही समयअघि विभिन्न कन्सल्टेन्सीमा गरिएको छापामारीपछि व्यवसायीहरूलाई सार्वजनिक रूपमा बदनाम गरिएको आरोप लगाए। उनले अनुसन्धानका क्रममा पक्राउ परेका मध्ये धेरैजना पछि रिहा हुनु नै गलत प्रक्रियाको संकेत भएको दाबी गरे।
‘दोषीलाई कारबाही गर्नुपर्छ, तर निर्दोषलाई पनि एकैपटक पक्राउ गरेर मिडिया ट्रायल गर्नु गलत हो,’उनले भने, ‘यसले सम्पूर्ण कन्सल्टेन्सी क्षेत्रलाई नै शंकाको दृष्टिले हेर्ने वातावरण बनाएको छ।’
उनका अनुसार पछिल्लो नियमन र अनिश्चित नीतिका कारण धेरै कन्सल्टेन्सी व्यवसायहरू बन्द हुने अवस्थामा पुगेका छन्। नयाँ लाइसेन्स नदिने, पुराना लाइसेन्स नवीकरणमा ढिलाइ गर्ने जस्ता समस्याले व्यवसायीहरू संकटमा परेको उनको भनाइ छ।
चाम्लिङले कन्सल्टेन्सी क्षेत्रलाई केवल ‘विद्यार्थी विदेश पठाउने माध्यम’ भनेर एकतर्फी रूपमा चित्रण नगर्न आग्रह गरे। उनका अनुसार यी संस्थाहरूले विद्यार्थीलाई सही विश्वविद्यालय र प्रक्रिया छनोटमा सहयोग गर्ने, साथै सरकारको एनओसी प्रणालीमार्फत नियमन हुने भएकाले राज्यकै निगरानीमा काम गरिरहेको प्रणाली हो।
‘एनओसी बिना कुनै विद्यार्थी विदेश जान सक्दैन,’ उनले भने, ‘त्यसैले सबै जिम्मेवारी कन्सल्टेन्सीमाथि मात्र थोपर्नु उचित होइन।’
उनले आजको युगलाई ग्लोबलाइजेसन र डिजिटल प्रतिस्पर्धाको युग भन्दै युवाहरूको अन्तर्राष्ट्रिय शिक्षा र अवसर खोज्ने प्रवृत्तिलाई स्वाभाविक प्रक्रिया भएको बताए। उनका अनुसार विदेश अध्ययनलाई नकारात्मक रूपमा मात्र हेर्नु गलत विश्लेषण हो।
चाम्लिङले विदेश अध्ययनबाट फर्किएका युवाहरूले नेपालमा स्टार्टअप र नयाँ व्यवसाय सुरु गरिरहेको उदाहरण दिँदै कन्सल्टेन्सी क्षेत्रले अप्रत्यक्ष रूपमा उद्यमशीलता विकासमा योगदान पुर्याइरहेको दाबी गरे।
उनले सरकारले अनुगमन र नियमनलाई अझ पारदर्शी, वैज्ञानिक र व्यवसायमैत्री बनाउनुपर्ने सुझाव दिए। साथै आगामी बजेटमा कन्सल्टेन्सी क्षेत्रको हित र स्पष्ट नीतिगत व्यवस्था समावेश गर्नुपर्नेमा जोड दिए।







डिसी नेपाल







Facebook Comment