प्रधानमन्त्रीको कूटनीतिक र राजनीतिक अपरिपक्वता
प्रधानमन्त्रीले हालै संसद्मा “मलाई पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा भयो, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ” भनी दिनुभएको अभिव्यक्ति यतिबेला राष्ट्रिय बहस र कूटनीतिक वृत्तमा तीव्र चर्चाको विषय बनेको छ।
प्रधानमन्त्री जस्तो देशको सर्वोच्च कार्यकारी र नीतिगत पदमा पुगेपछि मात्र थाहा हुने यस्ता संवेदनशील तथा राज्यका आन्तरिक सूचनाहरू सार्वजनिक रूपमा ओकल्नु कति न्यायसङ्गत हुन्छ भन्ने गम्भीर प्रश्न उठेको छ।
विगतका प्रधानमन्त्रीहरूले यस्ता कुरालाई गोप्य राख्दै कूटनीतिक माध्यमबाट हल गर्ने प्रयास गरेको इतिहास साक्षी छ, जसले गर्दा वर्तमान प्रधानमन्त्रीको यो अभिव्यक्तिले कतै उहाँले लिनुभएको ‘गोपनीयताको शपथ’ कै उल्लङ्घन त भएन भन्ने संशय नजन्माएको होइन।
यस अभिव्यक्तिको अर्को पाटोलाई हेर्दा आम जनताले राज्यका सूचना र सीमाको वास्तविक स्थितिबारे सुसूचित हुन पाउनुलाई सकारात्मक मान्न सकिए पनि यसमा प्रयोग भएको “धेरै ठाउँमा” भन्ने शब्दावली कूटनीतिक रूपमा ठूलो भूल (टङ स्लिप) सावित हुन सक्छ।
“धेरै ठाउँमा” भन्नुले व्यापकताको अर्थ राख्ने हुँदा भोलि वार्ताको टेबलमा भारतीय पक्षले प्रमाण माग्दै कति र कहाँ मिचिएको हो भनी प्रश्न गरेमा नेपाल रक्षात्मक बन्नुपर्ने स्थिति आउँछ।
यस्तो हलुका अभिव्यक्तिले माने भञ्ज्याङ, धनगढी, सन्दकपुर, दार्चुला वा सुस्ता जस्ता दशकौँदेखि विवादित र मिचिएका नेपाली भूभागहरूलाई सुरक्षित राख्ने नेपालको अडान र कूटनीतिक बार्गेनिङ शक्तिलाई कमजोर बनाउने जोखिम बढाउँछ।
भारतीय पक्षले आजका दिनसम्म नेपालको भूमि मिचेको कुरा कहिल्यै स्वीकार नगरेको पृष्ठभूमिमा नेपालकै प्रधानमन्त्रीको यस्तो स्वीकारोक्तिले द्विपक्षीय वार्तामा नेपालको स्थितिलाई नाजुक बनाउन सक्छ।यद्यपि, प्रधानमन्त्रीको आत्मरक्षा र बचाउका लागि उहाँले प्रयोग गर्नुभएका केही प्राविधिक शब्दहरू सहयोगी हुन सक्छन्।
उहाँले “सीमा मिच्नु” नभनी “जग्गा मिचेको” भन्ने भाषा प्रयोग गर्नुभएको छ, जसमा आकाश-पातालको फरक छ। सीमा राज्यले बलजफ्ती मिच्छ, जसरी लिम्पियाधुरा र लिपुलेकमा मिचिएको छ; तर जग्गा व्यक्ति-व्यक्तिबीच मिचिने विषय हो।
सीमा क्षेत्रमा कतै दुई-चार कट्ठा वा धुर जग्गाको विवाद साँच्चै रहेको र त्यसलाई मिलाएर वा लेनदेन गरेर नेपालको मिचिएको समग्र सीमा फिर्ता पाइन्छ भने त्यो सकारात्मक पक्ष हुन सक्छ।
त्यस्तै, उहाँले “रहेछ” भन्ने शब्द प्रयोग गर्नुभएको छ, जसले कुनै कुराको ठोकुवा गर्दैन, बरु कसैले दिएको जानकारी वा सूचनालाई मात्र सङ्केत गर्छ। सुरुमा प्राप्त भएका यस्ता जानकारीहरू पछि बुझ्दै जाँदा गलत वा पुष्टि हुन बाँकी अपूर्ण सत्य पनि हुन सक्छन्, जसलाई प्रधानमन्त्रीले भविष्यमा आफ्नो बचाउको बलियो आधार बनाउन सक्नुहुन्छ।
यो सबै हुँदाहुँदै पनि यस भनाइको सबैभन्दा ठूलो त्रुटि भने “नेपालले मिचेको” भन्ने शब्दावलीमा देखिन्छ। कुनै नेपाली किसानले आफ्नो हकभोग नपुग्ने दशगजा (तटस्थ क्षेत्र) वरिपरिको जग्गा भोगचलन गरेको व्यक्तिगत विषयलाई सिंगो ‘नेपाल राज्य’ ले भारतको भूमि मिचेको भनी व्याख्या गर्न मिल्दैन।
नेपाल सरकारले संस्थागत रूपमा भारतको भूभाग हडपेर कतै पनि जबर्जस्ती संरचना बनाएको इतिहास छैन। त्यसैले यस्ता अप्ठ्यारा प्रश्नहरूबाट बच्न प्रधानमन्त्रीले आफ्नो भाषामा सुधार गर्दै “नेपाल-भारत सीमा क्षेत्रमा मानिसहरूले जग्गा मिच्ने गरेका छन् र यो दुवै देशको साझा समस्या हो” भन्नु बढी परिपक्व र कूटनीतिक हुन्थ्यो।
मानिसको बोलीमा कहिलेकाहीँ सामान्य त्रुटि हुनु स्वाभाविक भए पनि राष्ट्रियता र सीमाको मामिलामा यस्ता शब्दहरू हानिकारक हुन सक्छन्।यति गम्भीर कुरा संसद्को रोष्टमबाट बोल्नुमा प्रधानमन्त्रीको पछाडि निश्चित रूपमा केही खास उद्देश्य वा रणनीति हुनुपर्छ।
तर, विषयको गुण र दोष केलाउनुभन्दा पनि ‘आफ्नो र अर्काको’ राजनीतिक कित्ता हेरेर धारणा बनाउने नेपाली समाजको कमजोरीका कारण यो विषय थप गिजोलिएको छ।
सरकारले नेपाल, भारत र चीन मात्र नभएर ब्रिटिस पक्षलाई समेत राखेर सीमा संवादको ऐतिहासिक पहल गरिरहेको महत्त्वपूर्ण पाटोलाई लुकाएर विरोधीहरू यसै त्रुटिलाई हतियार बनाउँदै राष्ट्रवादको नाममा राजनीतिक प्रतिशोध साध्न तल्लीन छन्।
अर्कोतर्फ, प्रधानमन्त्रीका अन्धसमर्थकहरू सीमा क्षेत्रमा क्यामेरा बोकेर ‘प्रधानमन्त्रीले जे बोले सही बोले’ भन्दै नेपालले नै भारतमाथि अत्याचार गरेको प्रमाणित गर्ने होडबाजीमा लाग्नु अर्को विडम्बना हो।
यस किसिमको भद्रगोल र उत्तेजनाले सीमा क्षेत्रको शान्ति सुरक्षा र सद्भाव खलबलिन सक्ने भएकाले दुवै देशका सरकारहरू यतिबेला कडा सतर्कता अपनाउनु आवश्यक देखिएको छ।
संगीतकार सुरेश अधिकारीकाे फेसबुक पेजबाट















Facebook Comment