सुपर तमोर जलविद्युत् आयोजनाका लागि १९ अर्बको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा ६ बैंकले लगानी गर्ने

डिसी नेपाल
२१ जेठ २०८३ ११:१७

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको ‘सुपर तमोर जलविद्युत् आयोजना’का लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट प्रा.लि. र ऋण लगानी गर्ने सहभागी बैंकहरूबिच वित्तीय व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको हो।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा भएको उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सह-अगुवाइ तथा सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा बैंकहरूको कन्सोर्टियम (सह-वित्तीयकरण) ले कुल लागतको ७५ प्रतिशत अर्थात् करिब १९ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताहरूबाट व्यवस्थापन गरिनेछ।

आयोजनामा गरिने कुल १९ अर्ब रुपैयाँ ऋण लगानीमध्ये अगुवा बैंक ग्लोबल आइएमईले ५ अर्ब रुपैयाँ, सह-अगुवा बैंकहरू सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ र प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

त्यस्तै, सहभागी बैंकका रूपमा कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ।

सम्झौतापश्चात् ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यो आयोजना निर्धारित समयसीमा अर्थात् निर्माण सुरु भएको ५ वर्षभित्रै सम्पन्न भई राज्यको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुने र निर्यात प्रवर्द्धनमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आयोजना सफलताको शुभकामना दिएका छन्।

विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले आफ्ना ३४४ शाखा कार्यालय, ३८५ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

यसका साथै बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउनुका साथै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका विश्वका विभिन्न देशहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याउने कार्यमा समेत ठुलो योगदान पुर्‍याउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *