परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदै, द्विपक्षीय सम्बन्ध र सहयोग विस्तारबारे छलफल हुने

डिसी नेपाल
२२ जेठ २०८३ ७:१५

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदैछन्।

आफ्ना भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी नयाँ दिल्लीतर्फ प्रस्थान गर्न लागेका हुन्। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री खनालको यो औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुङ्गिने जानकारी दिएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

उक्त भेटमा दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क), ऊर्जा तथा जनस्तरको सम्बन्धलगायतका प्रमुख क्षेत्रहरूमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ।

नेपाल र भारतबीच हुँदै आएको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत नै यो भ्रमण हुन लागेको हो।

यस भ्रमणले दुई देशबीच रहिआएको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने अपेक्षा गरिएको छ। भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यतालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *