मोटरसाइकल दुर्घटनामा परे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, अवस्था सामान्य

डिसी नेपाल
२२ जेठ २०८३ ११:१९

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलकातर्फ जाँदै गर्दा हिजो उनी दुर्घटनामा परेका हुन्।

पार्टी स्रोतका अनुसार साम्पाङले एउटा हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडिओ खिचिरहेका थिए र सोही क्रममा सन्तुलन गुम्दा मोटरसाइकल पल्टिएको थियो।

दुर्घटनापछि उठेर पनि उनले भिडिओ खिच्दै आफ्नो हातमा लागेको चोट देखाएका थिए, जसमा उनको एउटा हातको छाला नराम्ररी ताछिएको र सुरुवाल समेत उध्रेको देखिएको छ।

यसैबीच, दुर्घटनालाई लिएर सामाजिक सञ्जालमा चर्चा चुलिएपछि अध्यक्ष साम्पाङले आज एउटा स्टाटस लेख्दै आफू आफैँ लडेको र चोट पनि आफैँलाई लागेको उल्लेख गरेका छन्।

उनले अलिअलि चोट लाग्नु सामान्य भएको र आफूले देशलाई कुनै चोट नपुर्‍याएको भन्दै धेरै टिकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन्। अर्कातर्फ, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले दुर्घटनाबारे सामाजिक सञ्जालमार्फत आधिकारिक जानकारी गराउँदै अध्यक्ष साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको प्रस्ट पारेका छन्।

सुरुमा दुर्घटनाको खबरले सबैलाई चिन्तित बनाए पनि अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी सदा झैँ आफ्नो नियमित दैनिकीमा सक्रिय भइसकेको नेता किरातीले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *